News Griha :: न्यूजगृह
गण्डकीका मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत लिने 

पोखरा— गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिने भएका छन् । शनिबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिने विषयलाई प्रदेश सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि मुख्यमन्त्रीले पत्रमार्फत सूचना दिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले गत १० चैतमा मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।

समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश सभा सचिवालयले जनाएको छ ।

६० सदस्यीय प्रदेश सभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । गत पुस २५ मा एमालेसहित माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकीको तेस्रो मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ०९:३०
Weather Update