News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम र बझाङमा आज मतदान, रातिदेखि नै गणना

काठमाडौं— प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि शनिबार मतदान हुँदैछ ।

इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ (१) मा प्रदेश सभा सदस्य पदका लागि मतदान हुने छ। मतदान बिहान ७ बजेबाट सुरु भई बेलुकी ५ बजेसम्म हुने छ । 

मतदानको पूर्वसन्ध्यामा निर्वाचन आयोगले मतको महत्वलाई बुझेर आफूले छानेको उम्मेदवारको चिह्नमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातामा आह्वान गरेको छ।

Prabhu Bank

निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँकतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना हुन सक्नेमा आयोग सचेत रहेको र त्यस प्रकारको गतिविधि सिर्जना गर्ने वा गराउन खोज्ने जोकोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न निर्देशन दिइएको आयोगले जनाएको छ। 

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले मतदान कार्य निर्वाध रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे। आयोगले उपनिर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गर्ने कार्यमा सबैको सकारात्मक सहयोग र इमानदार प्रयत्नका लागि अपिल गरेको छ। 

आजै गणना
निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा शनिबार नै मतगणना गर्ने तयारी गरिएको जनाएको छ । सहायक प्रवक्ता पाण्डेयले इलाम–२ मा शनिबार रातिदेखि नै मतगणना गर्ने तयारी गरिएको बताए। उनले भने, 'आइतबार अबेरसम्ममा मतपरिणाम आउने गरी गणना गर्ने पूर्वतयारी भएको छ ।'

बझाङ १ (१) मा दुर्गम क्षेत्रमा समेत मतदान हुने भएकाले शनिबार नै निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका सङ्कलन गर्न समस्या हुने सहायक प्रवक्ता पाण्डेयले बताए। बझाङको साइपाल पालिकाबाट हेलिकप्टरबाट मतपेटिका ल्याइने आयोगले जनाएको छ । शनिबार नै मतपेटिका ल्याइए आवश्यक प्रक्रिया पूरा गरी तत्कालै गणना कार्य सुरु गर्न सकिने उनले बताए। 

दुई क्षेत्रमा उपनिर्वाचन 
इलाम–२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तोकिएका छन्। सो क्षेत्रमा कुल एक लाख १५ हजार ८८९ मतदाता छन्। इलाम–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुन १९ जनाले उम्मेदवारी दिएका छन्। १२ जना उम्मेदवार राजनीतिक दलबाट र सात जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

निर्वाचन आयोगका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, नेकपा एमालेबाट सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलनकुमार योङहाङ लिम्बूले उम्मेदवारी दिएका छन्। एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

सुहाङ सुवासचन्द्र नेम्वाङका छोरा हुन्। सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेकपा एकीकृत समाजवादीबाट जितबहादुर राई उम्मेदवार छन्। सात जना स्वतन्त्र उम्मेदवार छन्। 

बझाङ १ (१) मा ७४ वटा मतदान स्थलमा ९३ मतदान केन्द्र छन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहले सबै मतदान केन्द्रमा मतदानका लागि आवश्यक सबै सामग्री पुगेकाले शनिबार बिहान ७ बजेबाट नै मतदान सुरु हुने जानकारी दिए। सो क्षेत्रको चुनावमा सात वटा पालिका पूरै र थलारा गाउँपालिकाको वडा नम्बर ९ का मतदाता सहभागी हुने छन्।

सात वटा पालिकामा जयपृथ्वी नगरपालिका, मष्टा, तलकोट, साइपाल, सुर्मा, छविसपाथिभरा, खप्तडछान्ना गाउँपालिका रहेका छन्। 
सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता छन् । मतदानलाई शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली खटिएको प्रहरी नायव उपरीक्षक शाहले बताए।

उनका अनुसार शनिबार नै सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम चैनपुर ल्याइने छ। साइपाल गाउँपालिकालगायतका विकट क्षेत्रबाट भने मतपेटिका हेलिकोप्टरबाट ल्याइने छ। 

सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। 

११ जना उम्मेदवार रहेको सो क्षेत्रबाट नेपाली कांग्रेसले अभिषेकबहादुर सिंह, नेकपा एमालेले दमन भण्डारी, नेकपा माओवादी केन्द्रले जनक बुढा र नेकपा एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ।

सो क्षेत्रमा कुल ११ जनाको उम्मेदवारी कायम भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार सिंह निधन भएका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहका जेठा छोरा हुन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०६:१३
Weather Update