
काठमाडौं— आज वैशाख कृष्ण औँसी । आजको दिनलाई मातातीर्थ औँसी भनिन्छ । आजको दिनमा जीवित आमाको दर्शन गरी मनपर्ने मिष्ठान्न, लुगाफाटोलगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्ने गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गरी यो पर्व मनाइँदै आएको छ ।
सनातन धर्मले मातापिताको दैनिक दर्शन, पूजन, सेवा, भोजन आदि गराउन अनादिकालदेखि नै सिकाउँदै आएको छ । तर सबै सन्ततिलाई दैनिक रूपमा मातापिताको समिप रहन र उनीहरूको सेवा गर्न सम्भव नहुने भएकाले त्यही पवित्र कर्मको वार्षिक उत्सवको रूपमा मातातीर्थ औँसी तथा वैशाख कृष्ण औँसीलाई लिइएको हो ।
भगवान् रामले बनाएका थिए मातातीर्थ कुण्ड
त्रेतायुगमा दशरथपुत्र मर्यादा पुरुषोत्तम श्रीराम वनवास कालमा लक्ष्मण र सीताका साथमा घुम्दै हालको मातातीर्थको स्थलमा पुगे । तर भगवान् राम भन्ने थाहा नपाएर अपरिचित व्यक्ति सम्झँदै स्थानीयले उनीहरूमाथि आक्रमण गर्न सुरु गरे । त्यसपछि श्रीराम र स्थानीयका बीचमा घमसान युद्ध भयो । सो घमसान युद्धमा दुवै पक्ष थकित र भोक–प्यासले आकुलव्याकुल भए । माता सीता पनि प्यासले आकुलव्याकुल भइन् ।
माता सीता पानि प्यासले आकुलव्याकुल भएपछि भगवान् रामले वरिपरि पानीको खोजी गरे कतै पनि पिउनका लागि पानी भेटिएन । पानी कतै पनि नभेटिएपछि भगवान् श्रीरामले गंगा मातालाई पुकार्न थाले ।
‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै जब श्रीरामले माता गंगालाई पुर्कादै जमिनमा वाण प्रहार गरे, छेउमै पानीको कुण्ड बन्यो । उक्त कुण्डमा पानी उघाउन जाँदा सीताजीले सारा ब्रह्माण्डको दर्शन पाइन् ।
कुण्डको जलमा उनको छाया पर्नासाथ भित्रको ढुंगामा उनको मूर्तिसमेत कुँदिन पुग्यो । यसरी साक्षात् गंगा मातालाई आह्वान गरी भगवान् श्रीरामले उत्पत्ति गरेको पवित्र कुण्डलाई मातातीर्थ भनिन थालिएको धार्मिक मान्यता छ ।
अर्को किंवदन्ती
प्राचीन समयमा गाई चराउन आएका गोठालाहरूले कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालाले रोटी खान खोज्दा मुखमा रोटी नपरी नजिकैको कुण्ड भएतिर जान थाल्यो ।
रोटीको पछि लागेर कुण्डमा गएर हेर्दा त्यो गोठालोले मृत्यु भइसकेकी आमाको दर्शन पाएछ । घर फर्कने बेलामा गोठालाले आमालाई सँगै घर लैजाने र आमाबिना एक्लै नफर्कने जिद्दी गर्न थाले ।
त्यसपछि कुण्डमा छायाको रूपमा आएकी आमाले छोरालाई प्रत्येक वैशाख औँसीको दिन यस तीर्थमा सन्तानलाई आशीर्वाद दिन आउने वाचा गर्दै जिद्धी गरेका छोरालाई घर फर्काइन् ।
मृतक आमा पनि मातातीर्थमा आउने जनविश्वास रहँदै आएको छ । कुण्डमा आज पनि दिवंगत आमाहरू आई सन्तानले दिएको पिण्ड–तर्पण प्राप्त गरी पूर्वयात्रामा फर्किन्छन् भन्ने विश्वासले यस पवित्रस्थललाई मातातीर्थ भनिएको हो ।