News Griha :: न्यूजगृह
माधव नेपालको जिकिर– कुनै दलले साथ छोडेमा सरकार भुइँमै पछारिन्छ
फाइल तस्बिर

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै दलले साथ छाडेमा सरकार ढल्ने टिप्पणी गरेका छन्। 

पार्टी निकट भ्रातृ संगठन युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले सरकारमा ६ दल र बाहिर ६ दल रहेको र कुनै एक दलले साथ छाडेमा पनि सरकार ढल्ने जिकिर गरे। 

‘अहिले त कमसेकम १२ वटा पार्टी मात्रै छन्। अहिलेको सरकारमा ६ वटा पार्टी छन्, ६ वटा पार्टी बाहिर छन्। कुनै २ वटा, कुनै एउटा पार्टी अलग हुने बित्तिकै सरकार भुँइमै पछारिन्छ।  यो कुरालाई पनि हेक्का राखेर चल्नुपर्छ। कोही पनि घमण्डी नहुन्, कोहीले पनि दम्भ नदेखाउन्,’ नेपालले भने। 

त्यस्तै सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै अरुले कांग्रेसलाई शत्रुवत व्यवहार गर्न उक्साए पनि त्यसो गर्नाले पार्टीलाई फाइदा नहुने बताए। 
‘कसैकसैले कांग्रेसलाई शत्रु भन्नुपर्छ भन्छन्। शत्रुको नाममा प्रमुख प्रतिद्धन्दी लेखिदिनुपर्छ भन्छन्। शत्रुको निशाना त्यहाँ ताक्नुपर्छ भन्छन्। जसले गर्दा कांग्रेससँगको हाम्रो सम्बन्धै टुटेर जावस्। यो पार्टीको हितमा होइन पार्टीलाई सिध्याउने बिचार मात्रै हो। पार्टीलाई खत्तम पार्ने विचार मात्रै हो,’ उनले भने। 

त्यसैगरी सुदूरपश्चिममा प्रधानमन्त्रीले लचकता देखाएका कारण आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न पाएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गरे।  

‘झण्डै झण्डै दुर्घटना होला की भन्ने सुदूरपश्चिमको मुख्यमन्त्रीको चुनावको शिलशिलामा आइसक्या थियो। धन्यवाद छ अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जीलाई। उहाँले लचकता देखाउनुभयो, पहलकदमी लिनुभयो,’ नेपालले भने।   

सुदूरपश्चिममा आफ्नो नेतृत्वको सरकार र अन्य प्रदेशहरुमा मन्त्रीहरु बनेकोमा खुसि व्यक्ति गरे। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १६:१८
Weather Update