News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
रवि लामिछानेको पासपोर्ट दुरुपयोग प्रकरणको अनुसन्धान गर्ने एसएसपीको सरुवा 
एसएसपी भूपेन्द्र खत्री। फाइल तस्बिर।

काठमाडौं— गृहमन्त्री रवि लामिछानेले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं जिल्ला परिसरको प्रमुखसहित तीन एसएसपीको शुक्रबार सरुवा गरे।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्री र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको सरुवा भएको हो। उनीहरूको गत भदौमा सरुवा भएको थियो।

Prabhu Bank

प्रहरी नियमावली अनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सरुवाको अधिकार गृहमन्त्रीमा छ। प्रहरी नियमावली अनुसार सामान्यतया सरुवा भएको एक वर्ष नपुगी कार्यालय प्रमुखको सरुवा हुन्न।

खत्रीको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ भने उनको ठाउँमा वसन्त रजौरे आएका छन्। राठौरको राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा भएको छ। परिषद्मा रहेका सानुराम भट्टराई उनको ठाउँमा आएका छन्।

प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयमा रहेका एसएसपी अभिनारायण काफ्ले कोशी प्रदेश तालिम केन्द्रमा पुगेका छन् भने कोशीका राजन अधिकारी प्रहरी प्रधान कार्यालयको तालिम निर्देशनालयमा आएका छन्।

काठमाडौं प्रहरी प्रमुख खत्रीले रविको राहदानी (पासपोर्ट) दुरुपयोगबारे अनुसन्धान गरेका थिए। 

रविले दोहोरो पासपोर्ट बनाएको तर दुरुपयोग गरेको नदेखिएको भन्दै सरकारी वकिलको कार्यालयमा गरेको सिफारिसको आधारमा जिल्ला न्यायाधिवक्ता हुँदै महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो।

महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १५:१९
Weather Update