News Griha :: न्यूजगृह
स्पेन र क्रोएसिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं— वैदेशिक रोजगारीमा स्पेन र क्रोएसिया पठाइदिने भन्दै ११ जनालाई ठगी गरेको छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

स्पेन पठाइदिने प्रलोभन दिनेले आठ जनाबाट ५६ लाख र क्रोएसिया पठाइदिन्छु भन्नेले २ लाख ५५ हजार रुपैयाँ ठगेको आरोप छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार स्पेन पठाइदिन्छु भनेर पैसा लिइ ठगी गरेको आरोपमा पक्राउ पर्नेमा बुढानीलकण्ठ–६ हात्तीगौंडा बस्ने झापा दमक–५ का ३८ वर्षीय विजय भण्डारी छन्। उजुरी आएपछि उनलाई बबरमहलबाट पक्राउ गरिएको हो । 

यस्तै क्रोएसिया पठाइदिने भन्दै तीन जनालाई ठगेको आरोपमा पक्राउ पर्नेमा चाबहिल बस्ने धनकुटाको साँगुरीगढी–५ का ५२ वर्षीय कुलबहादुर लिम्बू छन्।

दुवैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको प्रहरीले बिहीबार जनाएको छ । 
०००
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १९:३९
Weather Update