News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
प्रतीकात्मक तस्बिर।

नेपालगञ्ज— बाँकेका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण वनमा रहेका खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेका छन्। 

राप्तीसोनारी गाउँपालिका–६ को सामुदायिक वनमा खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेको शमशेरगन्ज सब-डिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुशील सुवेदीले जानकारी दिए। तर कति सङ्ख्यामा मरे भन्ने विषयमा विवरण सङ्कलन भइरहेको उनको भनाइ छ।  

Prabhu Bank

उनले डढेलोबाट हरिण र बँदेलजस्ता जनावर विस्थापित भएको पाइएको बताए। जिल्लाको २५ वटा सामुदायिक वनमा लागेको डढेलोका कारण वनमा ठूलो मानवीय क्षति नभए पनि जीवजन्तु केही मरेको र सङ्कटमा रहेको बताइएको छ।

राप्तीसोनारी गाउँपालिकाको वडा नं २, ८, ५ र ६ का सामुदायिक वन डुडुवा गाउँपालिका–५ स्थित गोकुल सामुदायिक वन, बैजनाथ गाउँपालिका–२ को सुनगाभा सामुदायिक वन र कोहलपुर नगरपालिकाको सामुदायिक वनमा डढेलो लागेको थियो। जिल्लाको २५ वटा सामुदायिक वनको दुई सय ५० हेक्टर क्षेत्रफल र चक्ला वनको पाँच सय हेक्टरमा डढेलो लागेको थियो।

गत वर्षभन्दा यस वर्ष धेरै सुक्खा भएकाले डढेलो झन् फैलिएको बताइएको छ। वन अधिकृत सुवेदीले डढेलो अहिले नियन्त्रणमा आएको उल्लेख गर्दै फाटफुट केही स्थानमा डढेलो रहेको बताए। डढेलो लागेको वनमा सात सय लिटर ट्याङ्की भएको पाइपसहितको गाडीमार्फत पनि अग्नि नियन्त्रणमा लिइएको जानकारी दिँदै उनले अग्नि हेरालु आठजना परिचालन भएको उल्लेख गरे। 

बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले गाउँघरबाट भएको बदमासीका कारण निकुञ्जमा डढेलो लागेको उल्लेख गर्दै डढेलोका कारण विभिन्न प्रजातिका चरा र केही प्रजातिका बच्चा र अण्डा नष्ट भएको जानकारी दिए। 'बासस्थान नष्ट भएको छ, त्यसैले केही जनावर विस्थापित पनि भएका छन्,' उनले भने। संरक्षण अधिकृत शाहले डढेलो नियन्त्रणमा आएको उल्लेख गर्दै पहिले केही दिनअघि अहिले डढेलो कम हुँदै गएको बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १६:३१
Weather Update