News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र

मुगु — बजेट अभावका कारण मुगुमा प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ। एक वर्षमा निर्माण सम्पन गर्ने सम्झौता अनुरूप ठेक्का सम्झौता भएर काम अगाडि बढेपछि उक्त प्रहरी चौकीका लागि कर्णाली प्रदेश सरकारले बजेट नदिएपछि भवन निर्माण कार्य अलपत्र परेको हो।

सोरु गाउँपालिकामा रहेको कालै प्रहरीको भवन वडा नम्बर ९ मा निर्माण थालनी गरिएको थियो। एक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७६ जेठ २१ गते अमर निर्माण जेभीले २ करोड ४६ लाख, ८४ हजार ११७ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

kalai_police_chauki_mugu_2-1714020583.jpg
सम्झौता अनुसार २०७७ जेठ २० गतेभित्र भवन निर्माण सकी हस्तान्तरण गर्नुपर्ने उक्त भवन अलपत्र बनेको छ।

Prabhu Bank

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरी चौकीको लागि पर्याप्त बजेट विनियोजन नगरेपछि भवन निर्माण अघि बढाउन नसकेको ठेकेदार राजविन्द्र प्रताप सापकोटाले बताए।

कार्यालयको ब्यारेक भवन, शौचालय तथा स्नान गृह निर्माणका लागि प्रदेश सरकारले पहिलो पटक ५० लाख रुपैयाँ निकासा गरेको थियो। सो रकममध्ये पनि निर्माण कम्पनीले ४८ लाख ३६ हजार ६ सय ६३ रुपैयाँ भुक्तानी पाएपछि काम अगाडि बढको थियाे।

त्यसपछि सम्झौता अनुसारको रकम निकासा नभएपछि भवनको दुई तला उकासेर छाडिएको छ। बजेट अभावकै कारण निर्माण कार्यले गति लिन नसकेको सापकोटाको भनाई छ। त्यहाँ मजदुरी गरेकालेसमेत ठेकेदारबाट भुक्तानी नपाएको गुनासो गरेका छन्। 

kalai_police_chauki_mugu_1-1714020583.jpg
‘५० दिन बढी हामीले काम गयौँ। ढुंगा बोक्ने, गिटी कुट्नेदेखि बालुवा बोक्ने सम्मका काम गरेको एक रुपैयाँ पनि नदिएर ठेकेदारले बेपत्ता भएको छ। घर व्यवहार चलाउन भारतमा मजदुरी गर्न जाने हामीले गाउँमै काम पायौं भनेर दङ्ग परेर काम गरियो, ज्याला समेत नपाउँदा घरमा जहान छोराछोरीलाई खुवाउन मुस्किल छ। बनाएको भवन पनि पशु चौपाया बस्ने ठाउँ बनेको छ,’ कामदार धर्मराज चापागाँईले भने। 

निर्माण व्यवसायी सापकोटाले चाहेर पनि मजदुरीको रकम भुक्तानी गर्न नसकेकाे बताए। ‘आफूसँग भएको रकम पनि त्यही लगानी गरियो। सरकारले रकम निकासा नगरेकोले मजदुरलाई दिन नसकिएको हो। हाम्रो तर्फबाट काम गरेको रकम भुक्तानीका आग्रह गर्दा पाउन सकिएन। अहिले सर्वोच्चमा मुद्दा पुगेको छ,’ उनले भने।

kalai_police_chauki_mugu-1714020583.jpg
कालै प्रहरी चौकी भने स्थानीयको घरमा भाडा लिएर त्यहीबाट सञ्चालन हुँदै आएको छ। २ करोड ४६ लाख, ८४ हजार ११७ रुपैयाँमा सम्झौता भएको उक्त भवनको निर्माण लागत बढेर अहिले ३ करोड बढी पुगेको छ।

अलपत्र प्रहरी चौकी निर्माण कार्यलाई गति दिन तालुकदार निकायमा आफूले पनि पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १०:३५
Weather Update