News Griha :: न्यूजगृह
उपनिर्वाचनको ‘मौन’ अवधि सुरु, के-के गर्न पाइँदैन? 
न्यूजगृह इलुस्ट्रेसन

काठमाडौं— निर्वाचन कार्यतालिकाअनुसार गएराति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने समय सुरु भएको छ। निर्वाचन आयोगकाअनुसार मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि प्रचार गर्न नपाइने जानकारी दिएका छन्। अब मतदान सम्पन्न नभएसम्म निवाचन सम्बन्धी प्रचारप्रसार गर्न पाइने छैन।

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन। 

यस्तै उमेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट पनि मत माग्न निषेध गरिएको छ। निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमान सामग्री प्रकाशन तथा प्रसारण जस्ता कार्य गर्न पाइँदैन। 

त्यस्तै, प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई समेत गराउन सम्बन्धित निकायलाई देहाय बमोजिमको निर्देशन दिएको छ। नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सम्बन्धित सबै एकाइ, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृतले नियमित अनुगमन गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षता कायम गर्न आयोगले निर्देशन दिएको छ । 

यही वैशाख १५ गते इलाम २ र बझाङ १ (१) मा उपनिर्वाचन हुनेछ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०६:३५
Weather Update