News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
७ वर्षदेखि न्याय पर्खिरहेको ‘शव’, हत्यारालाई कारबाही माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं— अजित मिजारको न्यायका लागि विभिन्न दलित सङ्गठनहरूले सरकारको खबरदारी गरेका छन्। 

बुधबार एकीकृत दलित मुक्ति मोर्चा नेपाल, जात व्यवस्था उन्मूलन नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दलित अधिकार मञ्चले काठमाडौंको माइतीघरमा मिजारको हत्यारामा संलग्नलाई कारबाही र पीडित परिवारलाई न्यायका संयुक्त प्रदर्शन गरेका हुन्। 

खबरदारी कार्यक्रममा जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सदस्य शान्तिशंखर गजमेरले दलितहरूमाथि धेरै हिंसा भए पनि राज्य निर्मम भएर पीडितहरूमाथि नै शासन चलाइरहेको आरोप लगाएकी छन्। 

Prabhu Bank
Shanti_Shankar_Gajmer-1713966414.jpg
शान्तिशंखर गजमेर

उनले भनिन्, ‘यो जात व्यवस्थालाई संरक्षण गर्ने यो राज्यले पीडितहरूको पक्षमा न्याय नदिने गरेको छ। यो अजितको मात्रै होइन, धेरै दलितहरूमाथि हत्या, हिंसा र बलात्कार जस्ता घटनाहरू हुन्छ । तर राज्य निर्मम भएर पीडितहरूमाथि नै शासन चलाउने व्यवस्थाकोविरुद्ध हामी छौं।’

गजमेरले मिजारको न्यायका लागि ८ वर्षदेखि आन्दोलनरत रहेको भन्दै उनको परिवारले न्याय नपाउन्जेलसम्म सडक आन्दोलन जारी राख्ने बताएकी हुन्। 

यस्तै, अजित मिजारको बाबु हरिभक्त ढकाल मिजारले २०७३ सालमा भएको घटनामा हालसम्म पनि न्याय नपाउँदा सडकमा आउन बाध्य भएका बताए। 

Ajit_Mijar's_Father-1713966412.jpg
हरिभक्त ढकाल

उनले भने, ‘अजितको आज सर्वोच्चमा तारिक थियो। त्यही कारणले म काठमाडौं आएको थिएँ। तर फेरि जेठ २१ गतेलाई तारिक राखिदिएको छ। यस्तै ताल हो भने अदालतले हामीलाई न्याय दिँदैन। न्याय दिने भए २०७३ सालदेखि ०८१ साल लागिसक्यो, अझैसम्म नपाएको न्यायको लागि सडकमा नै आउनुपर्ने बाध्य भएका छौ।’ 

अन्तर्जातीय प्रेम विवाह गरेका काभ्रेका मिजारको ८ वर्ष अघि धादिङमा हत्या भएको थियो।

jat_1-1713966413.jpg
के हो घटना? 
विसं २०७१ सालमा काभ्रे पाँचखालकै अजित मिजार र नजिकै गाउँ ज्याम्दीकी पराजुली थरकी किशोरीबीच माया बस्यो। दुई वर्षपछि २०७३ साल असार २५ गते उनीहरूले प्रेम विवाह गरे।

केटी पक्षको व्यापक दबाब कारण दुई दिनमै उनीहरूको विवाह टुट्यो। असार २९ गते अजित सम्पर्कविहीन भए। भोलिपल्ट धादिङ, परेवाटारको जङ्गलमा उनी झुन्डिएको अवस्थामा फेला परे। उनको शव अहिले पनि शिक्षण अस्पताल, महाराजगञ्जमा न्यायको पर्खाइमा छ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १९:३६
Weather Update