News Griha :: न्यूजगृह
१२ वर्षमा १२ सयको मिर्गौला र ३२ जनाको कलेजो प्रत्यारोपण

भक्तपुर—  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार दुई सय ३१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ। 

मंगलबार १२औँ स्थापना दिवसका अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द श्रेष्ठले स्थापनादेखि हालसम्म ३२ जनाको कलेजो समेत प्रत्यारोपण गरिएको जानकारी दिए।

अस्पतालले २०८० वैशाखदेखि चैत मसान्तसम्म एक सय ८४ जनाको मिर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक गरेको उनले बताए।

आगामी दिनमा प्रत्यारोपण प्रतिष्ठान निर्माण गर्ने, सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने, पाँच सय श्ययाको सुविधा सम्पन्न केन्द्र बनाउने लगायत लक्ष्य रहेको कार्यकारी निर्देशक डा श्रेष्ठले बताए। 

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहले केन्द्र स्थापनादेखि यसको विकासका लागि मन्त्रालय निरन्तर लागिरहेको चर्चा गर्दै केन्द्रलाई अगाडि बढाउन मन्त्रालयदेखि सबै निकायले हातेमालो गर्नु आवश्यक भएको उल्लेख गरे।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०६:५०
Weather Update