सुडान— सुडानी सेना र र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ)बीच जारी झडपमा परी मृत्यु हुनेको संख्या१७४ पुगेको सुडानी चिकित्सकहरूको गैरसरकारी केन्द्रीय समितिले बुधबार जनाएको छ । समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘युद्धविरामको घोषणा गरिए पनि मंगलबार भएको झडपमा ३० जना सर्वसाधारणको मृत्यु भएको छ ।’
सुडानको राजधानी खार्तूमको मध्य भागमा रहेको सेनाको जनरल कमाण्ड नजिकै बुधबार पनि हिंसात्मक विष्फोट हुँदा झडप जारी रहेको प्रत्यक्षदर्शीले बताएका छन् । सुडानी सेनाले आरएसएफको नयाँ आक्रमणको प्रतिकार गरिरहेको बुधबार पुष्टि गरेको छ ।
सुडानी सेनाका प्रवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘शत्रुले ठूलो जनधनको क्षति बेहोर्नुका साथै थुप्रै लडाकू सवारी साधन नष्ट गरेको छ ।’ प्रत्यक्षदर्शीका अनुसार खार्तूम विमानस्थलमा इन्धन ट्याङ्की विस्फोट हुँदा ठूलो धुवाँको मुस्लोले ढाकेको थियो । खार्तूमको उत्तरमा रहेको कफौरी क्षेत्रमा रहेको आरएसएफ क्याम्पमा बुधबार बिहान पनि हिंसात्मक झडप भएको थियो ।
दुवै पक्षले मंगलबार अन्तर्राष्ट्रिय पक्षले प्रस्ताव गरेको २४ घण्टे मानवीय युद्धविरामका लागि प्रतिबद्धता जनाए पनि देशमा अझै पनि लडाइँ जारी छ । सुडानमा गत अप्रिल १५ देखि खार्तूम र अन्य क्षेत्रमा सुडानी सेना र आरएसएफबीच सशस्त्र झडप भइरहेको छ र दुवै पक्षले एकअर्कालाई द्वन्द्व सुरु गरेको आरोप लगाउँदै आएका छन् ।













