News Griha :: न्यूजगृह
रविलाई ज्ञानेन्द्रको सुझाव– आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्नुस्

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कतारका राजा नेपाल आउँदा बिदा दिइएकोमा गृहमन्त्री रवि लामिछानेप्रति कटाक्ष गरेका छन्। 

सामाजिक सञ्जालमा यसअघि गृहमन्त्री लामिछानेले राखेको धारणाप्रति टिप्पणी गर्दै नेता शाहीले यसअघि विभिन्न देशका राष्ट्राध्यक्ष आउँदा विरोध गरेको तर आज आफैँ गृहमन्त्री हुँदा किन बिदा दिइएको भन्दै कटाक्ष गरे।  

शाहीले गृहमन्त्री लामिछानेप्रति व्यंग्य गर्दै विदेशी राजाको खुट्टा ढोग्न जानुभन्दा आफ्नै देशका राजा फर्काउने अभियानमा लाग्न सुझाव समेत दिएका छन्। 

‘माननीय रवि लामिछाने ज्यु हिजोका दिनहरुमा तपाईंले जनताको आवाज उठाउँदै गर्दा हाम्रो साथ र समर्थन थियो तर आज तपाईं आफैँ गृहमन्त्री हुँदा कतारका राजा आउँदा सार्वजनिक बिदा दिनुभएछ अब भन्नुहोस् तपाईं र अरु नेतामा के फरक भो? बोल्ने एउटा गर्ने एउटा? विदेशी राजाका खुट्टा नै ढोक्न जानु भन्दा आफनै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस् कति गुलामी गर्छौ हो विदेशीको?’ शाहीले सामाजिक सञ्जालमा लेखेका छन्। 

लामिछानेले सञ्चारकर्मी रहँदाको बखत सन २०१६ मा लेखेको एउटा स्ट्याटस अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

लामिछानेले लेखेको थिए, ‘कतै भेटेको कुरो...खुशी हुनुस्, भारत र चीनका राष्ट्रपति आउँदा सार्वजनिक बिदा मात्र घोषणा गरेछन्। धन्न ‘बाउको मुख हेर्ने दिन’ घोषणा गरेनछन्।’ 

सोमबार गृहमन्त्रालयले आज सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सामाजिक सञ्जालमा लामिछानेको आलोचना समेत भइरहेको छ। तर पुनः लामिछानेले मंगलबार सामाजिक सञ्जालमार्फत् आफ्नो भनाइको प्रतिरक्षा गरेका छन्।  

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १२:३३
Weather Update