News Griha :: न्यूजगृह
कतारका राजालाई स्वागत गर्न सरकारले सार्वजनिक बिदा दिएपछि सर्वत्र विरोध, के भन्छन् गृहमन्त्री?

काठमाडौं— कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न मंगलबार सार्वजनिक बिदा दिएको छ। यो निर्णय विवादित बनेको छ। सामाजिक सञ्जालमा धेरैले सार्वजनिक बिदाको औचित्यमा प्रश्न उठाएका छन्। आम नागरिकको प्रश्नपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रष्टिकरण दिएका छन्।

कुनै व्यक्ति, देश वा घटना हेरेर फरक–फरक निर्णय गर्नु कूटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही नहुने उनको भनाइ छ। 

लामिछानेले सामाजिक सञ्जालबाटै प्रतिक्रिया जनाएका हुन्। अनावश्यक बिदा, भीआईपी सवारीको नामले नागरिकले पाउने सास्ति लगायतका थुप्रै विषयमा पदबहाल गरेको दिनदेखि नै आफूले लगातार काम गरिरहेको बताएका छन्।

‘रिजल्ट आउँदैछ। जे कुरा हिजो गलत भनिएको थियो, त्यो आज पनि गलत नै हो,’ उनले लेखेका छन्, ‘हिजोका अभिव्यक्तिको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकदेखिका अभ्यासहरू सच्याउन समय त लाग्छ। धेरै काम हुँदैछन्। थोरै धैर्य गरिदिनुभए पुग्छ।’

लामिछानेले विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, नेपालका लाखौ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपालसँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका राजालाई नेपालमा ससम्मान स्वागत गर्ने बताएका छन्।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १०:४७
Weather Update