News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कतार राजाको सुरक्षा तीन तारे जर्नेलको कमान्डमा,  विमानस्थल आधा घण्टा ठप्प पारिने 
तमिम बिन हमाद अल थानी

काठमाडौं— कतार आमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको सुरक्षा नेपाली सेनाका बलाधिकृत रथी (तीन तारे जर्नेल) अशोक सिग्देलको कमान्डमा हुने भएको छ। मङ्गलबारदेखि हुने दुई दिने भ्रमणमा आमिरको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ। 

सेनाको कमान्ड र समन्वयमा चारवटै सुरक्षा निकाय परिचालन हुनेछन्। अति विशिष्ट पाहुनाको सुरक्षाका लागि योजना तयार गरेर कार्यन्वयनमा ल्याइएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए। 

आमिरको सुरक्षामा नेपाली सेनाका दोस्रो वरीयताका विशिष्ट अधिकृतलाई नै जिम्मा दिइएको हो। आमिरको भित्री सुरक्षा घेरामा नेपाली सेनाको विशेष टोली हुनेछ। उनी हिँड्ने सडकदेखि हरेक भेटघाट र कार्यक्रमस्थलको सुरक्षा पनि नेपाली सेनाले गर्नेछ। 

Prabhu Bank

सुरक्षाको प्रमुख जिम्मा सेनाको हुने भए पनि आवश्यकताअनुसार अन्य सुरक्षाफौज पनि परिचालन हुनेछन्। बलाधिकृत रथी सिग्देलको कमान्डमा रहेको उच्च तहको सुरक्षा समितिमा नेपाल प्रहरीका एआईजी र सशस्त्र प्रहरीका एआईजी पनि छन्। यस्तै आवश्यकता अनुसार उपसमितिहरू बनाइएको छ। 

कार्यक्रमस्थल, सवार हुने रुट र निवासको सुरक्षा तथा अन्य व्यवस्थापन हेर्ने छुट्टाछुट्टै उपसमितिहरू बनाइएको छ। 

qatar_raja-1713843899.jpg
तमिम बिन हमाद अल थानी

जिल्ला तहमा सबै सुरक्षाकर्मीसँग समन्वय गरेर परिचालनको व्यवस्था मिलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए। काठमाडौं भित्रिने नाकाहरूमा पनि विशेष जाँचको व्यवस्था मिलाइएको छ। आमिरको सुरक्षाका लागि ड्रोनदेखि, डग र सीसी क्यामेराहरुबाट पनि निगरानी गरिनेछ। 

‘उच्च तहको भ्रमण भएकाले सुरक्षा योजना बनाउने र निर्देशन दिने काम पनि उच्च तहबाटै भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘आवश्यकताअनुसार सबै क्षेत्रसँग समन्वय र परिचालनको काम पनि हामीले गरिरहेका छौं।’ 

आमिर नेपाल उत्रनु १५ मिनेट पहिले नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प पारिने भएको छ। सुरक्षाकै लागि उनी अवतरण गरेको १५ मिनेटपछि मात्रै अन्य विमानको उडान अवतरण सुचारु हुनेछ। 

आमिरको स्वागतका लागि राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमै पुग्ने भएका छन्। 

आमिरको भ्रमणका अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको छ। यसले सुरक्षा व्यवस्थापनमा सहज हुने विश्लेषण छ। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा आमिरले नेपालको राजकीय भ्रमण गर्न लागेका हुन्। उनी बुधबार स्वदेश फर्किनेछन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०९:३१
Weather Update