News Griha :: न्यूजगृह
महिला राजनीतिकर्मीको आवाज– पार्टीको निर्णायक तहमा नहुँदा हामीसँग सूचना हुँदैन

काठमाडौं— राजनीतिक दलका महिला नेताहरूले पार्टीको निर्णायक तहमा नहुँदा महिला नेताहरूसँग सूचना नहुने बताएका छन् । बुधबार मिडिया एड्भोकेसी फोरमले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरूले पार्टीको निर्णय गर्ने तहमा महिला नहुँदा समस्या आउने गरेको बताएका हुन् ।

सबै पार्टीमा महिलाहरू भए पनि निर्णायक थलोमा नहुँदा सूचनाका विषयमा अपडेट नहुने समस्या रहेको उनीहरूको भनाइ थियो । सहभागिताको हिसाबले पार्टीभित्र पदहरू धेरै सिर्जना गरिए पनि निर्णय गर्ने तहमा अहिले पनि महिलालाई पार्टीका शीर्ष नेताहरूले सहभागी नगराउने गरेको उनीहरूकाे भनाइ थियाे ।

उनीहरूले पार्टीको निर्णायक तहमा महिला राजनीतिकर्मीहरू शून्य प्रायः रहेको समेत बताए । कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले महिला राजनीतिज्ञका समाचारहरू पोजिशनले पनि निर्धारण गर्ने बताइन् ।

'मानौं हाम्रो पार्टीको म सचिव तथा स्थायी कमिटीको सदस्य छु । हाम्रो सबै राजनीतिक निर्णय पार्टीको सचिवालयले गर्छ । विगतका दिनमा दैनन्दिनको कार्य सम्पादन गरिन्थ्यो । तर आज त्यो पोलिटिकल बडीको हिसाबले विकास भयो । जसले गर्दा त्यहाँ सात/आठ जना मान्छे राखिए', उनले भनिन्, 'म सचिव हुँ, १०/११ जनाभित्र त परिहाल्थे । तर त्यहाँ नपार्नका लागि त्यस्तो गरियो । झन् सानो ठाउँमा निर्णयहरू हुने भएको हुनाले सूचनामा पहुँच नहुने, सहभागिता हुने र ती कुराहरूलाई कता लैजाने भन्ने कुरामा ग्याप हुन्छ ।'

पार्टी कमिटीहरूमा व्यक्तिको संख्या, पदहरू धेरै बनाए पनि 'इनहाउस पोलिटिकल इन्फ्ल्युएन्सको हिसाबले कमजोर अवस्थामा रहेको  झाँक्रीकाे भनाइ थियो ।

पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले व्यक्तित्व सँगै पोजिशन पनि भएमा प्रभाव पार्न सकिने तर्क गरिन् । क्षेत्रगत कामले पनि फरक पर्ने भन्दै उनले आफू जुन क्षेत्रमा पुगेको छ त्यसलाई महत्त्व दिन सक्नुपर्ने बताइन् ।

विगतमा भन्दा अहिले मिडिया कभरेज राम्रो भए पनि अझै स्थिति सकारात्मक हुन नसकेको बताइन् । 'हिजोभन्दा आज मिडियामा कभरेज राम्रो त छ तर पनि संख्यात्मक हिसाबले ६ प्रतिशत भनेको धेरै नै न्यून हो । संसारभरी समाचारहरू पोजिशन र व्यक्तित्वमा आधारित हुने भएकोले हामीले धेरै चिज पनि खोज्न सक्दैनौं', झाँक्रीले भनिन्, 'समावेशी बनाएर पद त सिर्जना गरेका छौं तर ती पदहरू कामकाजी छँदै छैनन् । धेरै पार्टीहरूले समावेशीका कारण पदाधिकारीको संख्या बनाएका छन् तर ती पदहरू त्यो प्रोसेसमा महिलाहरू छैनन् । त्यसकारण पनि महिला राजनीतिज्ञका समाचारले कभरेज पाउँदैनन् ।'

उनले कानुनी रूपमा अहिलेसम्म भएका कुराहरू के थिए ? पार्टीहरूले समावेशी देखाउन गरेका कुराहरू के थिए र साँच्चिकै प्रपर कार्यान्वयनको पाटोमा के गरेका छन् भन्ने कुरा पनि हेर्नुपर्ने बताइन् ।

महिलाका सकारात्मक कुराहरू मिडियामा न्यून आउने भए पनि सामाजिक सञ्जालमा पुरुष राजनीतिज्ञको तुलनामा महिला राजनीतिज्ञहरूलाई सार्वजनिक रूपमा गालीबेइज्जती भने धेरै संख्यामा हुने गरेको उनकाे बुझाइ छ । उनी भन्छिन्,'सामाजिक सञ्जालहरूमा महिलाहरूलाई सार्वजनिक गालीबेइज्जतीका हिसाबले धेरै नै बढी छ । पुरुषको तुलनामा महिलालाई धेरै गाली गर्ने गरिन्छ । म्यागले गरेको 'साइबर बुलिङ'को एक अध्ययनले दुई वर्षमा सबैभन्दा बढी साइबर बुलिङ ममाथि भएको भनेर पनि देखाएको छ ।'

उनले व्यक्तित्वले मात्रै समाचार नबन्ने त्यसका लागि पद चाहिने बताउँदै पदमा पुगेका महिलाले त्यसलाई सकारात्मक हिसाबले प्रयोग गर्नुपर्ने समेत बताइन् । 'महिलाहरूको व्यक्तित्व मात्रै पनि समाचार बन्दैन । पोजिशन पनि चाहिन्छ । पोजिशन मात्रै पनि समाचार सधैं हुँदैन । त्यो पोजिशनले केही कुराको डिरेक्शन दिनुपर्छ । त्यसका लागि हामी महिलाहरू जहाँ छौ त्यहाँ हामीले आफूलाई तयारी राख्नुपर्छ । हामीले कभरेज पाउँछौ', नेता झाँक्रीले भनिन्, 'हामी न्युजमेकर हो, हामीमाथि समाचार बन्ने हो भने हामीले सबैले भनिरहेका कुरा भनेर अब समाचार हुँदैन । त्यसकारण हामीले फरक ढंगले केही कुरा भनौं । जसले नयाँ 'वे क्रेट' गरोस् । विचार निर्माण गरोस् र त्यसले समाजलाई नयाँ दिशातर्फ लैजाओस् । जसले सकारात्मक परिवर्तनका लागि भूमिका निर्वाह गर्न सकोस् । त्यसो भएमा महत्त्वका साथ कभरेज पाउँछ ।'

तर सस्तो लोकप्रियताका लागि जे पनि बोल्ने भन्ने कुरालाई पनि निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ । वास्तवमै राजनीतिज्ञहरूले समाजको दिशा नै बदल्ने हिसाबले नयाँ ढंगले समाचार दिन सक्नुपर्ने उनले बताइन् ।

त्यस्तै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले कतिपय अवस्थामा तत्काल प्रतिक्रिया दिनुपर्ने अवस्था हुँदा पनि ती विषयमा तत्काल अपडेट हुन अप्ठ्यारो हुने स्थिति रहने बताइन् ।

पूर्वउपसभामुखसमेत रहेकी नेता भुसालले भनिन्,'कतिपय अवस्थामा पत्रकारहरूले तत्काल बैठकमा के भयो भनेर सोधिदिनुहुन्छ तर ती विषयमा के छलफल भयो ? बाहिर के कुरा आयो ? अरूले के भनेर पनि अध्ययन गर्नुपर्ने हुन्छ। तर पत्रकारहरूलाई तत्काल चाहिएको हुन्छ । त्यस्तो अवस्थामा तत्काल प्रतिक्रिया दिन गाह्रो हुन्छ ।'

महिला राजनीतिकर्मीहरूले तयारीका साथ आफ्नो नेतृत्व देखाउनुपर्ने भन्दै उनले हरेक विषयलाई महिलासँग नजोडिकन त्यसले पूर्णता नपाउने बताइन् ।

निर्वाचनमा प्रत्यक्षतर्फ महिला चुनाव लडेनन् भनेर मात्र हेर्न नहुने भन्दै नेता भुसालले पार्टीको टिकट दिने ठाउँमा महिला छन् कि छैनन् ? महिलाको पक्षमा निर्णय गर्न अनुकूल वातावरण छ कि छैन भनेर पनि हेर्नुपर्ने बताइन् । उनले भनिन्, 'प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला चुनावमा उठेनन् भनेर मात्र हुँदैन । त्यो पार्टीको निर्णय गर्ने, टिकट दिने ठाउँमा महिला छन् कि छैनन् ?  निर्णायक ठाउँमा महिलाको भूमिका कस्तो छ, पहुँच कस्तो छ भन्ने विषयलाई पनि हामीले हेर्नुपर्छ ।'

पोजिशनको हिसाबले महिलाले निर्वाह गर्ने भूमिका र तीनले उठाउने विषयको महत्त्वले पनि महत्त्व राख्ने उनले बताइन् ।

यसैगरी नेकपा माओवादी केन्द्रकी नेता तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष अमृता थापामगरले ३३ प्रतिशत महिलाको व्यवस्थाअनुसार राजनीतिमा महिला सहभागिता उपस्थितिका हिसाबले सकारात्मक भए पनि निर्णय गर्ने ठाउँमा महिलाको भूमिका कस्तो छ भन्ने कुराले अर्थ राख्ने बताइन् ।

समाज विकास क्रममै महिला पछाडि परेको कारणले राजनीतिमा पनि त्यसको प्रभाव पर्ने भन्दै उनले स्वतः स्फूर्त रुपमा आउने कुराले पनि प्रभाव पार्ने बताइन् ।

पुरुषले अहंकारको रूपमा लिने र महिलाले हीनताबोधको रूपमा लिने हुँदा समस्या रहेको भन्दै उनले महिलाहरूले हीनताबोधविरुद्ध अझै विद्रोह गर्न आवश्यक रहेको बताइन् । 'आफ्ना कुरा राख्ने क्रममा पनि महिला ट्याउँट्याउँ बोलेको रुपमा लिइन्छ भने पुरुषले आफ्नो कुरा क्या दमदार रुपमा राखेको भन्ने रुपमा लिइन्छ । यो पनि एउटा पितृसत्तात्मक सोचका कारण समस्या छ । पितृसत्तात्मक भनेको पुरुषमा मात्र छ भन्ने खोजेको होइन', उनले भनिन्, 'त्यो दुई कुरामा अभिव्यक्त हुन्छ के । सोचको रुपले हेर्दा अहङ्कार वादको रुपमा पुरुषको पितृसत्तात्मक र महिलाको पितृसत्तात्मक चैँ हीनताबोधको रुपमा छ । त्यस कारणले महिलाहरूले हीनताबोधको विरुद्ध बोल्नुपर्छ ।'

महिला राजनीतिकर्मीहरूले नकारात्मक कुरा बाहिर नजाओस् भनेर बढी सचेत हुन खोज्दा पनि महिलाहरूका कुरा मिडियामा कम आएको हुन सक्ने उनको भनाइ थियो । उनले भनिन्,'राजनीतिक बिट हेर्ने साथीहरूले अबको समाजको दिशा कता हो ? भन्ने कुरालाई ध्यानमा राखेर । प्रवक्ता राजनीतिकर्मीहरूको जस्तो त नहोला तैपनि समग्रमा न्युट्रल भएर पनि सकारात्मक ढंगबाट पनि समाचार दिन सकिन्थ्यो कि ।'

यसैगरी नेकपा एमालेकी नेता कल्पना थापाले राजनीतिमा आएका महिलाहरूमा अघिल्लो पुस्ता र अहिलेको पुस्ताको सोंचाइमा भिन्नता रहेको बताइन् । निर्णायक तहमा महिला पुग्नुपर्ने एउटा विषय भए पनि अहिलेको पुस्ता हरेक हिसाबले सक्षम, एक्टिभ पुस्ता राजनीतिमा आएको बताइन् ।

त्यस अवसरमा बोल्दै गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईले गोरखापत्र संस्थानअन्तर्गत रहेका प्रकाशनहरूमा पत्रकार महिलाको उपस्थिति संख्यात्मक हिसाबले ठूलो रहेको भन्दै राज्यसँग जोडिएको मिडिया भएकाले महिलाका इश्यूहरू पनि धेरै आउने गरेको बताए । सन्देशका हिसाबले महिलाका समाचार सामाग्री प्रकाशन गर्दा सकारात्मक सन्देश जाने सामाग्री मात्र प्रकाशन गर्ने गरेको उनको भनाइ थियो ।

त्यसैगरी रिपब्लिका दैनिकका सम्पादक कोषराज कोइरालाले राजनीतिक विटमा लेख्ने पत्रकार महिलाको संख्या बढाउन आवश्यक रहेको बताए । महिला राजनीतिकर्मीका समाचारहरू कम आउने भने निर्णायक तहमा महिलाको सहभागिताले पनि निर्धारण गर्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै टेवा नेपालका संस्थापक रिता थापाले महिलाले सबैभन्दा पहिले आफूले आफूलाई चिन्न सक्नुपर्ने बताइन् ।

मिडियामा महिला राजनीतिकर्मीका समाचार ६ प्रतिशत

यसबीच सञ्चारमाध्यममा महिला राजनीतिज्ञका विषयले ६ प्रतिशत प्राथमिकता पाउने गरेको एउटा अध्ययनले देखाएको छ । टेवा नेपालको सहयोगमा मिडिया एड्भोकेसी ग्रुपले गरेको सञ्चार अनुगमन प्रतिवेदनले महिला राजनीतिकर्मीले नेपालका मिडियाका ६.०४ प्रतिशत प्राथमिकता पाउने गरेको तथ्य देखाएको हो ।

सञ्चारको मूल प्रवाहमा महिला राजनीतिकर्मीको अवस्थालाई अध्ययन गर्न गरिएको उक्त मिडिया अध्ययनमा नेपालका ८ वटा दैनिक पत्रिकामा ३ महिनाको अवधिमा प्रकाशित भएका समाचारहरूलाई आधार मानिएको पत्रकार बबिता बस्नेतले जानकारी दिइन् ।

दैनिक पत्रिकामा प्रकाशित समाचार, लेख/फिचर, सम्पादकीय, सम्पादकलाई चिठ्ठी र फोटोलाई आधार मानेर अध्ययन गरिएको मिडिया एड्भोकेसी ग्रुपका अध्यक्ष अनिता विन्दुले जानकारी दिइन् ।

अध्ययन अवधिभर ती ८ पत्रिकामा प्रकाशित भएका तीन हजार एक सय ७६ वटा सामाग्रीमध्ये एक सय ९२ वटा सामाग्री मात्र महिला राजनीतिकर्मीसँग सम्बन्धित रहेको अध्ययनले देखाएको छ । जसअनुसार सबैभन्दा बढी गोरखापत्र दैनिकमा २५.५ प्रतिशत, द राईजिङ नेपालमा १७.७ प्रतिशत, अन्नपूर्ण पोष्टमा १२.५ प्रतिशत, काठमाडौं पोष्टमा १२ प्रतिशत, कान्तिपुर दैनिकमा ११.५ प्रतिशत, नयाँ पत्रिकामा ८.३ प्रतिशत, द हिमालयन टाइम्समा ६.८ प्रतिशत, नागरिक दैनिकमा ५.७ प्रतिशत महिला राजनीतिकर्मीका समाचार सामाग्रीले स्थान प्राप्त गरेको देखिएको छ ।

महिला राजनीतिकर्मीका बारेमा प्रकाशित एक सय ९२ सामाग्रीमध्ये ५५ प्रतिशत समाचार सकारात्मक, ४२ प्रतिशत नकारात्मक र तीन प्रतिशत तटस्थ रहेको समेत देखाएको छ ।

उक्त अध्ययनले नेपालको राजनीतिको महत्त्वपूर्ण निर्णयहरूमा पुरुष राजनीतिकर्मीहरूको मात्रै सहभागिता रहने गरेको देखाएको छ भने निर्णायक भूमिकामा रहेका महिला राजनीतिकर्मीले विषयवस्तुमा अडान राख्ने, आफ्नो भनाइ राख्ने गरे पनि मिडियाले त्यसलाई प्राथमिकता नदिएको समेत उल्लेख गरेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  २०:०५
Weather Update