सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको बर्खास्तीको माग गर्दै परेको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं—सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्ति बदरको माग गर्दै परेको रिटमा पेसी तोकिएको छ।
मुख्यमन्त्री सोडारीको नियुक्ति बदरको माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले दायर गरेको मुद्दा सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको हो।
प्रदेश प्रमुखको आह्वानमा चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। नाउपाकै अर्का कैलाश चौधरीले पनि दाबी पेस गरेपछि प्रदेश प्रमुखले दुवैको दाबीलाई खारेज गर्दै पुनः सरकार गठनका लागि आह्वान गरे।
गठबन्धन दलको समर्थनमा सोडारी गत वैशाख ७ गते मुख्यमन्त्री नियुक्त भएका हुन्।
यसअघिका मुख्यमन्त्री नेपाली कांग्रेसका कमलबहादुर साहले राजीनामा दिएसँगै संविधानको धारा १६८ को उपधारा २ बमोजिम पुनः सरकार गठनका लागि आह्वान गरिएको थियो।
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१ १२:०४













