News Griha :: न्यूजगृह
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पेसी, फैसला आउला? 

काठमाडौं—  क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा सोमबार उच्च अदालत पाटनमा पेसी तोकिएको छ। 

अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला टारिदिएका लामिछाने पक्षको बुझाई छ। त्यसबेला अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो। साथै, जन्ममिति सम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो। 

न्यायाधीशले मुद्दा आफूबाट पन्छाउने चेष्टा नगरेमा यसै साता फैसला आउन सक्ने बताइएको छ। जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते नै लामिछानेले गौशाला २६ लाई जबरजस्ती करणी गरेको भन्दै दोषी ठहर गरेको थियो भने २५ फागुनमा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने सजाय निर्धारण गरेको थियो। 

अदालतले गौशाला २६ (परिवर्तित नाम) को उमेर, प्रतिवादी लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दै सजाय तोकेको थियो।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०९:५८
Weather Update