News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
अमेरिकाले लगायो इजरायली सैनिक माथि प्रतिबन्ध, नेतान्याहुले भने, ‘बेतुक कदम’

काठमाडौं— अमेरिकाले इजरायल डिफेन्स फोर्स (आईडीएफ) को नेजाह येहुदा बटालियनलाई प्रतिबन्ध लगाएको छ। अन्तराष्ट्रिय मिडियामा यो खबर आएसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु आक्रोशित भएका छन्। साथै, उनले अमेरिकाको यो निर्णयको निन्दा गरेका छन्। 

प्रधानमन्त्री नेतान्याहुले भने, ‘अमेरिकाको यो निर्णय बेतुक छ, यो गर्नु हुँदैनथ्यो। मैले नेतृत्व गरिरहेको सरकारले यी कदमहरू विरुद्ध हरसम्भव रूपमा कारबाही गर्नेछ।’

Prabhu Bank

यो प्रतिबन्ध वेस्ट बैंकमा प्यालेस्टाइनीहरू विरुद्ध मानवअधिकार उल्लङ्घनको आरोपमा लगाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। बाइडेन प्रशासनले यस बटालियनलाई कालोसूचीमा राख्ने निर्णय गर्न सक्ने पनि उनीहरूले उल्लेख गरेका छन्। यदि यसो भयो भने नेत्जाह येहुदा सिपाहीहरूले अमेरिकी सैनिकहरूसँग तालिम लिन सक्षम हुने छैनन्। अमेरिकी कोष पनि बन्द हुनेछ। अमेरिकी हतियारमाथि पनि प्रतिबन्ध लगाइने छ।

‘हाम्रा सिपाहीहरू आतङ्ककारी राक्षसहरूसँग लडिरहेका छन्, उनीहरूले उल्टै हामीलाई प्रतिबन्ध लगाएका छन्,’ बेन्जामिन नेतान्याहुले भने, ‘अमेरिकाबाट यो अपेक्षा थिएन, हाम्रा सैनिकहरू आतङ्कवादी राक्षससँग लडिरहेका बेला यस्तो अवस्थामा पनि प्रतिबन्ध लगाइँदैछ। प्रतिबन्ध लगाउने मनसाय बेतुक छ।’ 

यसैक्रममा इजरायली मन्त्री इटामार बेनग्वीर र बेजलेल स्मोट्रिचले पनि अमेरिकाको निर्णयको कडा आलोचना गरेका छन्। बेनग्वीरले भने, ‘हाम्रा सैनिकमाथि प्रतिबन्ध लगाउनु खतराको संकेत हो। इजरायल आफ्नो अस्तित्वको लागि लडिरहेको बेला बटालियनहरूमा प्रतिबन्ध स्वीकृत गर्ने कदम पूर्ण पागलपन हो। यो कदम अत्यन्त गम्भीर छ र नेत्जाह येहुदा सदस्यहरूलाई सुरक्षित गरिनुपर्छ।’

उनले रक्षा मन्त्री योभ ग्यालान्टलाई अमेरिकी आदेशको अगाडि नझुक्न पनि आग्रह गरेका छन्। इरान–इजरायल युद्धपछि अमेरिकाले इजरायललाई आक्रमण नगर्न निरन्तर दबाब दिइरहेको छ। यसैबीच इरानमा हवाई आक्रमणको खबर पनि बाहिर आएको छ। अहिले अमेरिकाको यो कदमबाट धेरै अर्थ निकालिएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०७:१६
Weather Update