News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इरानमा इजरायल आक्रमणको स्याटलाइट तस्बिर सार्वजनिक, एअर बेसमा नोक्सान भएको दाबी 

काठमाडौं— इजरायलले इरानमाथि गरेको आक्रमणको स्याटलाइट तस्बिरहरू सार्वजनिक भएका छन्। जसमा इरानको एअर बेसमा क्षति पुगेको देखिएको छ।

शुक्रबार बिहान इजरायलले इरानलाई लक्षित गरी मिसाइल आक्रमण गरेको थियो। तर, इरानले इजरायलको आक्रमणलाई अस्वीकार गर्दै इरानी सैन्य आधारमा कुनै क्षति नभएको बताएको छ।

Prabhu Bank

इरानको इस्फाहान सहरमा रहेको एयर बेसमा रहेको एअर डिफेन्स सिस्टम ध्वस्त भएको देखिएका दुईवटा तस्बिरको बीबीसीले गरेको विश्लेषणमा इरानको एअर बेसमा नोक्सान पुगेको पाइएको छ।

अमेरिकी अधिकारीहरूले इजरायलले इरानमाथि मिसाइल हमला गरेको दाबी गरे पनि इजरायलले यसबारे कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन। पछिल्लो समय इजरायल र इरानबीच तनाव बढेको छ।

गत हप्ता, इरानले सिरियाको दमास्कसमा रहेको इरानी दूतावासमा इजरायलले गरेको आक्रमणमा धेरै शीर्ष इरानी कमान्डरहरूको मृत्युको जवाफमा इजरायलमा तीन सयभन्दा बढी मिसाइल र ड्रोनहरू प्रहार गरेको थियो। यद्यपि, तीमध्ये धेरैजसो आकाशमा नै नष्ट भएका थिए। इजरायलले इरानको असफल आक्रमणमा आफूलाई कुनै क्षति नभएको दाबी गरेको छ।

शुक्रबार इरानमा इजरायलले हमला गरेपछि इजरायलले कुन इरानी स्थानलाई निशाना बनाएको भन्ने प्रश्न उठिरहेको छ। इस्फाहान इरानको आणविक कार्यक्रमको केन्द्र पनि हो।

इजरायलले आफ्नो आक्रमणमा कुन प्रकारको हतियार प्रयोग गरेको हो भन्ने अझै स्पष्ट भइसकेको छैन, तर स्याटलाइट तस्बिरमा एअर बेसमा क्षति पुगेको देखिन्छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १८:०८
Weather Update