News Griha :: न्यूजगृह
चुनावीसभामा प्रचण्डको वाचा– गोविन्द भट्टराईलाई जिताउनुस्, मन्त्री बनाउँछु

तनहुँ— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँको डुम्रेमा बुधबार आयोजित सत्ता गठबन्धनको चुनावी कोणसभालाई सम्बोधन गर्दै तनहुँ–१ का उम्मेदवार गोविन्द भट्टराईले चुनाव जिते मन्त्री बनाउने वाचा गरेका छन् ।

यसअघि रामचन्द्र पौडेललाई भोट माग्दा प्रधानमन्त्री बनाउने बताएको उल्लेख गर्दै त्योभन्दा पनि ठूलो पदमा पुर्‍याएको प्रचण्डले बताए ।

‘केन्द्रमै हाम्रो गठबन्धन सरकार छ । हामी निरन्तर गठबन्धनको सरकार अगाडि बढाउँछौं,’ सभामा प्रचण्डले भने,‘गोविन्द भट्टराईलाई यो क्षेत्रबाट जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई सम्बोधन गर्दै उहाँलाई मन्त्री बनाउँछौं ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टराई रामचन्द्र पौडेल जत्तिकै योग्य रहेको दाबी गरे ।

भन्छन्,‘देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पृथ्वीनारायणको भन्दा कम छैन । यो भानुको जिल्ला हो । तर अब यो राष्ट्रपतिको भूमि पनि भइसकेको छ । तपाईंहरूले रामचन्द्रजीलाई जिताएर पठाउनुभयो, मैले राष्ट्रपति बनाएँ, गोविन्द भट्टराई पनि रामचन्द्रजत्तिकै योग्य हुनुहुन्छ, उहाँलाई जिताएर पठाउनुहोस् । उहाँ पनि मन्त्री हुनुहोला ।’

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १८:२३
Weather Update