News Griha :: न्यूजगृह
पर्यटनमन्त्रीको गुनासो– मन्त्रालयमा बजेट माग्न आउनेहरुको भीड बढ्न थाल्यो 

काठमाडौं— संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले इयूको कालोसूचीबाट नेपालको हवाई क्षेत्रलाई मुक्त गराउन आफूले छलफल गरिरहेको बताएका छन्। 

आइतबार मन्त्रालयमा पत्रकारसँग कुराकानी गरेका मन्त्री तामाङले आफूले यसअघि पनि बोलेको बताउँदै निजी क्षेत्रसँग सल्लाह सुझाव लिएर काम गरिरहेको बताए। 

‘नेपालको विमानलाई सिधै इयूमा प्रवेश गराउने गरी कार्ययोजना बनाउनुपर्छ भनेर सन्देश दिने हिसाबले मैले मन्त्रालयमा आउँदा बोलेको थिएँ। त्यसमा म अडिग छु। निजी क्षेत्रसँग सल्लाह सुझाव लिएका छौँ। विज्ञहरुसँग पनि कुराकानी गरि सम्बन्धित र सम्बद्ध सस्थाका पदाधिकारीसँग पनि कुराकानी गर्छौ,’ उनले भने। 

उनले इयूको कालोसूचीबाट नेपाली हवाई क्षेत्रलाई खुला गर्न नसके त्यसले सामरिक, आर्थिक र अन्य हिसाबले नकारात्मक असर पार्ने धारणा राखे। 
मन्त्री तामाङले मन्त्रालयमा विभिन्न व्यक्तिहरु भेटघाटको नाममा बजेटका लागि धाउने गरेकाले आर्थिक वर्ष ०८०÷०८२ को बजेट निर्माणमा त्यसले प्रभाव पारेको पनि बताए। 

कुराकानीका क्रममा मन्त्री तामाङले आउने आर्थिक वर्षको बजेट निर्माणमा काम गरिरहेको बताए पनि मन्त्रालयले कार्ययोजना बनाउन नभ्याएको बताएका बताए।

उनले बजेट निर्माणको पूर्वसन्ध्यामा सत्ता समीकरण फेरिएपछि प्रधानमन्त्री र केही मन्त्रीबाहेक अधिकांशजसो नयाँ मन्त्रीहरु आएकाले सिंहदरबारमा मन्त्रीसँग योजना लिएर बजेट माग्न आउनेको भीड लागेको बताए। 

मन्त्री तामाङले मन्त्रालयको कार्यक्षेत्र धेरैतिर फैलिएको (भेग) भएको उल्लेख गर्दै विभिन्न विभागहरुसँग बजेट निर्माणबारे प्रत्यक्ष अप्रत्यक्ष रुपमा नीतिगत र आवश्यक छलफल गरिरहेको जानकारी दिए। 

उनले भने, ‘पछिल्लो चरणमा प्रधानमन्त्री र केही मन्त्रीहरुबाहेक अरु सबै मन्त्रीहरु परिवर्तन भएको र तिनलाई भेटघाट गर्ने एवम बधाई दिने हिसाबले सिंहदरबारमा भीडभाड अलि बढ्यो। त्यही बिचमा बजेट माग गर्नेहरुको पनि भिडभाड बढिराखेको थियो। यी दुवै कारणले गर्दा भिडभाडमै हराउने खालको व्यस्तता बन्यो। जसका कारण योजना निर्माणको कुरालाई त्यसले प्रभाव पारेको छ।’

मन्त्री तामाङले जेठ १६ गते प्रधानमन्त्रीलाई नै सगरमाथाको आधार शिविरमा पुर्याएर सगरमाथा दिवस मनाउने तयारी मन्त्रालयले गरिरहेको बताए। 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १६:४०
Weather Update