News Griha :: न्यूजगृह
चीन र अमेरिकाबीच किन भइरहेको छ सेतो सुनको लागि होडबाजी ?
बीबीसी हिन्दी

नयाँ दिल्ली— विश्व दिगो ऊर्जा अर्थात् हरित ऊर्जातर्फ अघि बढिरहेको छ । यसका लागि सबैको नजर त्यसको ठूलो भण्डार क्षेत्र ल्याटिन अमेरिकाका तीन देशमा परेको छ ।

अर्जेन्टिना, चिली र बोलिभिया विश्वको ‘लीथियम ट्रायङ्गल’ हुन्, जहाँ विश्वको आधाभन्दा बढी लीथियम भण्डार छ । जसले गर्दा विश्वभरका सरकारहरू र उनीहरूका लगानीकर्ताहरूको ध्यान ल्याटिन अमेरिकाको यस भागमा परेको हो ।

भविष्यको ऊर्जा आवश्यकता पूरा गर्ने यो खनिज विद्युतीय कार (ब्याट्रीबाट चल्ने सवारी)का लागि बनाइएका ब्याट्रीहरूमा प्रयोग हुन्छ । अन्तर्राष्ट्रिय रूपमा लीथियमको बजार लगातार बढ्दै छ र धेरै खेलाडीहरू अब यस क्षेत्रमा आफ्नो खुट्टा जमाउन चाहन्छन् ।

अमेरिका र चीन जस्ता देशहरू पनि यो महत्वपूर्ण खनिज कब्जा गर्न कुनै कसर बाँकी राख्न चाहँदैनन् । ‘संसार नयाँ ऊर्जातर्फ अघि बढिरहेको छ र विश्वका ठूला शक्तिहरू यसका लागि आवश्यक खनिजहरूको नियन्त्रणको लागि प्रतिस्पर्धा गरिरहेका छन्,’ प्रख्यात थिकट्याङ्क विल्सन सेन्टरका ल्याटिन अमेरिका कार्यक्रमका निर्देशक बेन्जामिन गेदानले भने, ‘यो युद्धको मैदान बनेको छ ।’

‘चीनले यस मामिलामा पहिले नै कार्य सुरु गरिसकेको थियो, अमेरिका भने पछिमात्रै सुरु गरेको हो । तर, अब ऊ चीनसँग पछि पर्न चाहँदैन,’ उनले भने । 

सेतो सुनको चमात्कार

‘सेतो सुन’ भनेर चिनिने यो खनिजलाई चिनियाँ कम्पनीहरूले वर्षौँदेखि संसारको हरेक कुनामा खोज्ने प्रयास गरिरहेका थिए । 

यसका लागि उनीहरूले ल्याटिन अमेरिकाका देशहरूमा पनि ठूलो लगानी गरेका छन्, जहाँ विश्वको ६० प्रतिशत लीथियम भण्डार छ । अमेरिकी भूगर्भ सर्वेक्षणको प्रतिवेदनअनुसार सन् २०२२ को तथ्यांक अनुसार विश्वमा ८ करोड ६० लाख टन लीथियमको भण्डार फेला परेको छ । सबैभन्दा ठूलो भण्डार बोलिभियामा छ । त्यसपछि अर्जेन्टिना, चिली, अमेरिका, अष्ट्रेलिया र मेक्सिमा छ ।

लीथियमको उत्खनन र ठूलो मात्रामा उत्पादनमा चिली अग्रपंक्तिमा छ भने मेक्सिको पनि १७ मिलियन टनको सीमित लीथियम भण्डारको साथ उत्तर अमेरिकी बजारमा प्रमुख खेलाडी बनिरहेको बीबीसी हिन्दीले जनाएको छ । मेक्सिको भौगोलिक रूपमा अमेरिका र क्यानडासँग नजिक छ र ब्याट्रीबाट चल्ने कारहरूको उत्पादनको केन्द्र बनिरहेको छ । 

हालै टेस्ला र बीएमडब्ल्यू जस्ता ठूला कार निर्माता कम्पनीहरूले मेक्सिकोमा आफ्ना कारखानाहरू निर्माण गरेका छन् । यता मेक्सिकोका राष्ट्रपति आन्द्रेज म्यानुएल लोपेज ओब्राडोरले यसै वर्ष टेस्ला कार कारखाना अमेरिकाको टेक्सासबाट करिब तीन घण्टाको दुरीमा मोन्टेरेमा निर्माण गरिने पुष्टि गरेका थिए । 

यसै वर्ष फेब्रुअरीमा बीएमडब्ल्यूले मेक्सिकोको सान लुइस पोटोसीमा रहेको आफ्नो कारखानामा सन् २०२७ देखि नयाँ कार उत्पादन गर्ने बताएको थियो । सो कारखाना सन् २०१९ मा निर्माण भएको थियो ।

अमेरिकाको आक्रोश

गत वर्ष मार्चमा अमेरिकी दक्षिणी कमाण्डका प्रमुख जनरल लौरा रिचर्डसनले संसदको सशस्त्र सेवा समितिलाई चीनले ल्याटिन अमेरिकामा लगानी बढाइरहेको बताएकी थिइन् । ‘चीनले आर्थिक र कूटनीतिक स्तरमा र प्रविधि, सूचना र सैन्य उपस्थितिको सन्दर्भमा ल्याटिन अमेरिका र क्यारेबियनमा आफ्नो पदचाप बिस्तार गरिरहेको छ,’ उनले चेतावनी दिँदै भनिन् ।

उनले थपिन्, ‘यो क्षेत्र खनिजले भरिपूर्ण छ र हाम्रा विरोधीहरूले यसको फाइदा उठाउन सक्छन् भन्नेमा म चिन्तित छु । उनीहरूले यस क्षेत्रमा लगानी गरिरहेका देखिन्छन्, तर, यथार्थमा उनीहरूले यहाँको स्रोतको दोहन गरिरहेका छन् ।’ दक्षिण अमेरिकाको अर्जेन्टिना, बोलिभिया र चिलीको ‘लीथियम ट्रायङ्गल’ बारे उनले ‘चीनले यस विषयमा निकै आक्रामक शैली लिएको र लीथियमको क्षेत्रमा जमिन स्तरमा उन्नत प्रविधिको प्रयोग गरिरहेको’ जानकारी दिएकी थिइन् । 

चीनले के भन्छ ?

अमेरिकालगायत अन्य देश ऊर्जाको क्षेत्रमा परम्परागत ऊर्जा (हाइड्रोकार्बन)बाट मुक्त हुने बाटोमा हिँड्ने योजनामा रहेका बेला चीन सो बाटोमा पहिले नै हिँड्न सुरु गरिसकेको छ । चीनको नजर पहिल्यै महत्वपूर्ण खनिज लीथियममा छ, जुन आगामी दिनमा विश्व बजारका लागि निकै महत्वपूर्ण साबित हुनेछ ।

चीनले सन् २००१ देखि नै दीर्घकालीन योजना बनाएको थियो । आफ्नो दशौँ पञ्चवर्षीय योजनामा दिगो ऊर्जालाई मुख्य प्राथमिकतामा राखेर सन् २००२ देखि नै विद्युतीय कारमा लगानी गर्न थालेको थियो । यस वर्षको जनवरीमा चीनका प्राकृतिक स्रोतमन्त्री वाङ गुआङहुआले चीनको समाचार एजेन्सी सिन्ह्वासँगको अन्तर्वार्तामा भनेका थिए, ‘चीन धेरै खनिजहरूमा धेरै हदसम्म विदेशी देशहरूमा निर्भर छ । यदि अन्तर्राष्ट्रिय स्तरमा स्थिति परिवर्तन भयो भने, यसको असर आर्थिक सुरक्षा र राष्ट्रिय सुरक्षामा पर्न सक्छ ।’ 

ल्याटिन अमेरिकामा चीनको बढ्दो लगानी एकातिर चीनले दक्षिण अमेरिकाका देशहरूमा खानीसम्बन्धी व्यवसायमा लगानी बढाइरहेको छ । अर्कोतर्फ ‘लीथियम ट्रायङ्गल’ भएका यी देशहरू पनि चीनको उन्नत प्रविधि र स्थानीयको विकासमा ठूलो लगानीको फाइदा उठाउन चाहन्छन् । 

यसै वर्षको फेब्रुअरीमा तीन चिनियाँ कम्पनीहरूले लीथियमका लागि बोलिभियाको सरकारी कम्पनीसँग एक अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेका थिए । यस परियोजनाअन्तर्गत सन् २०२५ सम्म यहाँबाट ठूलो मात्रामा लीथियम निर्यात गर्न सकिनेछ । 

लीथियम खानीको सन्दर्भमा अर्जेन्टिना र चीनबीचको सम्बन्ध विगतका वर्षहरूमा गहिरो भएको छ । सन् २०२२ मा मात्रै नौ चिनियाँ कम्पनीले अर्जेन्टिनाको साल्टा, क्याटामार्का र जुजुरीका विभिन्न परियोजनामा लगानी गर्ने घोषणा गरेका थिए ।

विश्व शक्तिहरूबीच संघर्ष

एट्लान्टिक काउन्सिल थिंक ट्याङ्कको एड्रियन अर्श ल्याटिन अमेरिका सेन्टरका एसोसिएट प्रोफेसर पेपे झाङले महत्वपूर्ण खनिज र दिगो ऊर्जालाई लिएर प्राविधिक र भूराजनीतिक दुवै रूपमा चीन र अमेरिकाबीच प्रतिस्पर्धाको मुद्दा बनेको बताए ।

‘यस विषयमा चीनले तीव्र गतिमा काम गरिरहेको छ,’ पेपे झाङ भने, ‘ल्याटिन अमेरिका र आसपासका देशहरूमा चीनको लगानी यस मामिलामा धेरै महत्वपूर्ण छ ।’ सन् २०२० र २०२१ मा चीनले यस क्षेत्रमा करिब १.१ अर्ब डलर लगानी गरेको थियो । तर, यो वर्ष उक्त संख्या बढ्न सक्ने बताइएको छ । 

राष्ट्रिय सुरक्षाका मुद्दा

चीनले जस्तै अमेरिकाले पनि रणनीतिक कारणले खनिजको आपूर्ति श्रृंखलामा आफ्नो स्थान सुनिश्चित गर्न प्राथमिकतामा राखेको छ ।

गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनले एक विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘धेरै प्रकारका आधुनिक प्रविधिका लागि महत्वपूर्ण खनिजहरू महत्वपूर्ण हुन्छन् र हाम्रो राष्ट्रिय सुरक्षा र आर्थिक प्रगतिका लागि ती जरुरी हुन्छन् ।’

बाइडेनले आफ्नो भाषणमा उल्लेख गरेका खनिजहरूमा लीथियम र कोबाल्ट जस्ता खनिजहरू समावेश छन् । कम्प्यूटरदेखि घरायसी उपकरण उत्पादनमा मात्र नभइ विद्युतीय कारका लागि ब्याट्री, पानीघट्ट र सोलार प्यानलको प्रविधिमा पनि यो निकै महत्वपूर्ण रहेको उनले बताएका थिए । विश्वका प्रायः सबै देशले परम्परागत ऊर्जाको प्रयोगलाई घटाएर नवीकरणीय ऊर्जा स्रोतको प्रयोगलाई बढावा दिइरहेको बाइडेनले बताएका थिए ।

यस्तो अवस्थामा आगामी दशकहरूमा यिनीहरूको विश्वव्यापी माग ४०० देखि ६०० प्रतिशतले बढ्ने अनुमान गर्न सकिन्छ । ब्याट्री प्रविधिको लागि धेरै महत्वर्पूण लीथियम र ग्रेफाइटको माग चार हजार प्रतिशत वा बढी हुन सक्छ । 

अमेरिका र चीनबीचको रस्साकस्सी 

निर्देशक गेदान भन्छन्, ‘चीन र अमेरिकाबीचको यो रस्साकस्सीमा चीन अमेरिकाभन्दा अगाडि देखिन्छ ।’

‘चिनियाँ सरकारले ब्याट्री उत्पादनका लागि ल्याटिन अमेरिकामा ठूलो लगानी गर्न तयार भएकाले यस मामिलामा चीन एक कदम अगाडि रहेको छ,’ उनले थपे, ‘तर, अमेरिकाको सम्पूर्ण ध्यान अमेरिकी कम्पनीहरूका लागि खनिज खरिद गर्नेमा केन्द्रित छ, ताकि उनीहरूले दिगो ऊर्जा उत्पादन गर्न सकून् ।’

उनी भन्छन्, ‘अमेरिका यस मामिलामा चीनलाई पनि उछिन्न चाहन्छ । तर, अमेरिका र चीन जस्ता दुई ठूला शक्तिहरूबीचको यो दौडमा दक्षिण अमेरिका फसेको कुरालाई नकार्न सकिँदैन ।’ 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १८:१४
Weather Update