
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता समीकरण पूरै कार्यकाल अघि बढ्ने दाबी गरेका छन्।
आइतबार कैलालीको धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।
बाहिर बजारमा नयाँ समीकरणका विषयमा विभिन्न खाले हल्ला चले पनि त्यस्तो नभएको र समीकरणको स्थायित्वमा शंका गर्ने ठाउँ नरहेको जिकिर गरे। त्यस्तै केन्द्रीय समीकरण अनुसार नै प्रदेश सरकार बन्ने काम अन्तिम चरणमा पुगेको बताए।
‘राजनीतिक विषयमा बाहिर बजारमा विभिन्न चर्चा परिचर्चा बढी भए पनि मज्जाले पूरै अवधि जान्छ अहिलेको समीकरण। प्रदेशमा सरकार बनाउने क्रम पनि अन्तिम चरणमा छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
त्यस्तै अहिलेको सरकारलाई वामन्थीहरुको सरकार मात्रै भन्न नमिल्ने बताए। अन्य गैरवामपन्थी दलहरु समेत मिलेको कारण दुवै शक्तिको समीकरण रहेको तर राम्रो काम गर्न सकेमा भोलिका दिनहरुमा वामपन्थी शक्तिहरु एक हुनसक्ने बताए।
सरकार विस्तारै स्थिर भएर अघि बढ्ने गतिमा रहेको बताए।