News Griha :: न्यूजगृह
महावीरको २६२३औँ जन्मजयन्ती आज, जनकल्याणको बाटोमा लाग्न राष्ट्रपति पौडेलको आग्रह


काठमाडौं— जैन धर्मका प्रवर्तक महावीरको २६२३औँ जन्मजयन्ती आज जैन धर्मावलम्बीहरुले विविध कार्यक्रम गरी मनाइँदैछ।

उक्त अवसरमा राष्ट्रपति पौडेलले जैन धर्मावलम्बी सबैलाई शुभकामना दिँदै महावीरले मार्गदर्शन गरेको जनकल्याणको बाटोमा लाग्नुपर्नेमा जोड दिएका छन्। 

हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीहरूद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ। नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ।

महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गरेका थिए।

राष्ट्रपति पौडेलले जनकल्याणको लागि महावीरले गरेको मार्गदर्शनलाई पालना गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न सकिने विश्वास व्यक्त गरेका छन्। 

‘महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास लिएको छु,’ राष्ट्रपति पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै  सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास समेत पौडेलको छ। 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १०:२१
Weather Update