
काठमाडौं— अमेरिकामा शुक्रबार एक व्यक्तिले म्यानह्याटन अदालतबाहिर आफैंलाई आगो लगाएका छन्। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई मौन पार्न पैसा तिरेको मुद्दाको सुनुवाइका लागि न्यायाधीशहरू चयन भइरहेका बेला यो घटना भएको अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन्।
आगो लगाउने व्यक्तिको नाम म्याक्सवेल अजरेलो हो। उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। न्युयोर्क प्रहरीका अनुसार उक्त व्यक्तिले आफूलाई किन आगो लगाएको भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन।
म्याक्सवेलले आगो लगाउनुअघि केही पर्चा हावामा फालेका थिए। ति पर्चामा राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प एकअर्कालाई भेट्दैछन् भन्ने लेखिएको थियो। उनीहरू दुवै अमेरिकामा फासीवाद ल्याएर हाम्रो प्रणालीलाई उखाल्न चाहेको उल्लेख थियो।
म्याक्सवेलले आफूसँगै ज्वलनशील पदार्थ भएको क्यान ल्याएको र क्यानमा राखिएको ज्वलनशील पदार्थ आफैँमा छर्केर आगो लगाएको बताइएको छ। न्युयोर्कका प्रहरी प्रमुख जेफ्री म्याड्रीका अनुसार उक्त व्यक्ति फ्लोरिडाका बासिन्दा थिए। जो एक साताअघि मात्रै न्युयोर्क आएका थिए। परिवारलाईसमेत उनी न्युयोर्क गएको बारे जानकारी थिएन।
उनको कुनै आपराधिक रेकर्ड नभएको प्रहरीले जनाएको छ। प्रहरीले पर्चा र क्यानमाथि अनुसन्धान गरिरहेको छ। उक्त व्यक्तिले आफूलाई आगो लगाउनुअघि केही नबोलेको प्रत्यक्षदर्शीले बताएको मिडिया रिपोर्टमा उल्लेख छ।













