
काठमाडौं— नेकपा एमालेको गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आइतबार प्रतिवेदनउपर समूहगत छलफल हुने भएको छ। प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची रहेको जानकारी दिइएको छ।
शनिबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए। त्यस्तै परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदनमाथि छलफल हुनेछन्।
आज ति प्रतिवेदनमाथि सामूहिक छलफल गरि सुझाव माग गरिएको छ।
परिषद् बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन्। एमालेको यस परिषद् बैठकमा पार्टीको आगामी कार्यदिशा र वर्तमान अवस्थाको समीक्षा हुने बताइएको छ।
सोमबार नेकपा स्थापनाको ७५ औँ वर्षका अवसरमा सम्मानलगायत विशेष कार्यक्रम आयोजना गरिएको छ। जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू लगायत शीर्ष नेताहरूलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको जानकारी दिइएको छ।