News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
एमाले महासचिव पोखरेल भन्छन्– वर्तमान समीकरणले मुलुकमा उत्पन्न निराशालाई तोड्छ 

काठमाडौं— नेकपा एमालेका महासचिव शंखर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि नयाँ समीकरण बनाएको बताएका छन्। 

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले विगतको गठबन्धनका कारणले आज मुलुक निराशाबाट गुज्रिरहेको भन्दै त्यसलाई तोड्नको लागि एमाले अगाडि बढेको बताए। 

उनले भने, ‘एक प्रकारले विगतको गठबन्धन सरकारका कारणले गर्दा तीन वटा चुनौतीहरुबाट हामी गुज्रिरहेका थियौं। एउटा राजनीतिक अस्थिरता, सामाजिक अराजकताको चुनौती थियो। अर्को सामाजिक मूल्यहरुको विघटन र तेस्रो मुलुकमा चरम आर्थिक संकटको अवस्था थियो। जसका कारण नेपाली समाजमा चरम निराशा उत्पन्न भइरहेको, युवाहरु पलायन भईरहेको थियो। यो अवस्थालाई अन्त्य गर्नका लागि नेकपा एमाले विरुद्धको जुन घेराबन्दी थियो त्यसलाई तोडेर अघि बढेको हो।’

Prabhu Bank

मुलुकलाई सकारात्मक दिशाबाट अगाडि बढाउने कुराको निष्कर्ष राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकबाट निकाल्ने उनले बताए। 

वैशाख ८ र ९ गते आयोजित नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा हुन गइरहेको छ। 

उक्त परिषद् बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू दुई हजार ७३ जना, केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् सदस्य बाहेकका ३ सय ८१ जना आयोजक गरी २४ सय ५४ जना सहभागी हुने छन्। 

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न हुने उक्त परिषद् बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेशन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने तालिका रहेको छ। 

बैठकमा केन्द्रीय निकायहरू क्रमशः केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदनहरू प्रस्तुत हुनेछन्।

बैठकमा २०८१ साललाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्य योजना प्रस्तुत गरिने छ।

साथै, नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५औं वर्ष (हिरक महोत्सव) का उपलक्ष्यमा यही वैशाख १० गते एक विशेष समारोहको आयोजना गरिनेछ।

उक्त समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूले सम्बोधन गर्नेछन्।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १७:१७
Weather Update