News Griha :: न्यूजगृह
रविप्रति घनश्याम भुसालको कटाक्ष : ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा नेता बनेर हिँडेका छन्

काठमाडौं— नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन् । 

बुधबार काठमाडौंमा पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । 

उनले एमाले अध्यक्ष ओलीका कारण नै वामपन्थी कम्युनिस्टमा मुसल पैदा भएको बताए । उनले ओली प्रवृत्तिमा आफूलाई फाइदा हुने सिद्धान्त, आफू विचार र आफ्ना समर्थक मात्रै असल हुन् अरू सबै शत्रु हुन् भन्ने कुरा हाबी भएको बताए । 

‘ओलीवाद भनेर मैले व्यक्तिको कुरा गरेको होइन, त्यो एउटा प्रवृत्तिका रूपमा हुर्कियो,’ उनले भने, ‘यसमा विचार के हो भन्दा म हो । मेरो हो, मेरा हुन् । ओलीवाद र ओली प्रवृत्तिको सिद्धान्त के हो भन्दा मलाई जे गर्दा फाइदा हुन्छ त्यही हो सिद्धान्त । म विचार हो, मेरो फाइदा सिद्धान्त हो, मेरा समर्थक मात्रै असल हुन् अरू सबै शत्रु हुन् भन्ने कुरा भइसकेपछि वामपन्थीमा यदुवंशी मुसल तयार हुन्छ ।’

उनले राम्रो पार्टी र राजनीति बिगार्ने काम ओलीले संसद विघटन गरेबाट सुरु भएको आरोप लगाए । 

उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा नेता बनेर हिँडेको आरोप लगाए । उनले अनुशासनहीनता र मूल्यहीनताको बीचमा प्रतिस्पर्धा हुँदा नराम्राहरूले जित्ने बताए । 

‘नयाँ राजनीति वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा छन् । जब अनुशासनहीनताको, मूल्यहीनताको फन्टुसहरूका बीचमा झगडा हुन्छ, प्रतिस्पर्धा हुँदा सबैभन्दा फन्टुसले जित्छ,’ उनले थपे, ‘आज त्यही भइरहेको छ, सडकमा सबैभन्दा फन्टुसहरू नेता भएर हिँडेका छन् । यो राष्ट्रिय जीवन संकटको डरलाग्दो भुमरीका नजिक छ ।’

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १५:१४
Weather Update