News Griha :: न्यूजगृह
बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारेर फिर्ता

काठमाडौं— बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारेर जिल्ला प्रहरी कार्यालय कास्कीले सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेको छ।  

जिल्ला प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार बिहीबार दिउँसो करिब डेढ बजेको समयमा ४३ वर्षीय मनोहर पवँरको पैसा राखेको झोला हराएको थियो।

पोखरा–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा काम गर्ने पवँर बिहीबार नयाँ बजारस्थित कृषि विकास बैंकमा जम्मा गर्न जाँदै थिए। पैसा राखेको झोला मोटरसाइकलको ‘लेग गार्ड’ बाट कहाँ खस्यो भन्ने पत्तै पाएनन्। हराएपछि मात्रै थाहा पाए। 

घटनालगत्तै उनले प्रहरीलाई खबर गरे। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्दा उक्त झोला भारत घर भई पोखरा–३ पालिखे चोकमा बस्ने ६५ वर्षीय छोटुलाल शर्माले भेटेको पत्ता लाग्यो।

पैसाको झोला फेला पारेका शर्माकै रोहबरमा बिहीबारै फिर्ता गरिएको प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  २०:२५
Weather Update