News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
उपनिर्वाचनः निष्फिक्री भोट माग्दै हर्क, रास्वपाका मन्त्रीद्वारा राज्यकोषको दुरुपयोग 

काठमाडौं— आगामी वैशाख १५ गते इलाम २ सहित बझाङ प्रदेश सभा १ मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनको मिति नजिकिएसँगै उम्मेदवार प्रचारलाई तीव्रता दिएका छन्। उम्मेदवारहरू आश्वासनको पोको बोकेर मतदाताको घरदैलो धाइरहेका छन्। इलाम २ मा  १२ राजनीतिक दल र  ७ स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा छन्। उनीहरु विभिन्न आश्वासन बाँड्दै मतदातामाझ पुगिरहेका छन्। उनीहरूले मतदाता तान्न विभिन्न भेला, गोष्ठी, सभा र घरदैलो गरिरहेका छन्। भौगोलिक रुपमा विकट भएपनि उम्मेदवारहरू घरघरमा आइपुगेको देख्दा मतदाताहरू पनि मख्ख छन्। उम्मेदवार टोलटोलमा आफ्नो घोषणापत्र र प्रतिवद्धता पत्र बाँडिरहेका छन्। दल तथा उम्मेदवारले वैशाख १२ गते सम्म मात्र चुनाव प्रचारप्रसार गर्न पाउँछन्।

बझाङ भन्दा पनि इलामको निर्वाचनलाई चासोका साथ हेरिएको छ। एकमात्र क्षेत्रमा निर्वाचन हुन लागे पनि देशभरका राजनीतिक सरोकारवालाहरूको ध्यान यतिबेला इलाम २ मा खिचेको छ। यो उपनिर्वाचन पुराना र नयाँ दलहरूको शक्ति परीक्षणको प्रयोगशाला बन्ने भएकाले निकै चासोका साथ हेरिएको हो। किन भने इलाम २ को उपनिर्वाचनलाई मिसन ०८४ सँगसमेत जोडिएको छ। इलाम २ मा सत्ता गठबन्धनमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी दिएका छन्।

त्यस्तै कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलनरत समूहबाट समेत इलाम २ मा उम्मेदवारी परेको छ। त्यस्तै भर्खरै सत्ताबाट बाहिरिएको नेपाली कांग्रेसलेसमेत पुरानो हारको बदला लिन चाहन्छ। यी कारणले इलामको निर्वाचनबारे आम नागरिकको कौतुहलता समेत बढेको हो। त्यसैले होला उम्मेदवारको लागि भोट माग्न काठमाडौंबाट जहाज चढेर जाने जमात पनि ठूलै छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्री गगन थापा लगायत नेताहरू इलाम पुगेर आआफ्ना उम्मेदवारसँगै घरदैलो गरे। त्यस्तै पुराना पार्टीबाट मात्र होइन नयाँ पार्टी रास्वपाका नेताहरूकोसमेत लर्को छ इलाममा। पहिचानवादी मुद्दा बोकेका मिलन लिम्बूलाई उम्मेदवार बनाएको रास्वपाका नेताहरू उनलाई जिताउन इलाम धाइरहेका हुन्। नेता, सांसद मात्र होइन रास्वपाका बहालवाला मन्त्रीको मुकाम नै इलाम छ।

Prabhu Bank

केही दिन अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीप) अर्याल इलाम पुगेर मिलनलाई भोट मागे। त्यस्तै मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ पनि त्यहाँ पुगेर भोट मागिन्।यसअघि नै वर्तमान उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने मिलनलाई भोट माग्न इलाम पुगेका थिए। केही दिनपछि उनी फेरि त्यहाँ जाने तयारीमा छन्। त्यतिमात्र होइन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि स्वतन्त्र उम्मेदवार पहिचान पक्षधर डकेन्द्र थेगिमलाई जिताउन लागि परेका छन्।

निर्वाचन आचारसंहिता उलङ्घन गरि मन्त्री र स्थानीय तहका जनप्रतिनिधि नै उम्मेदवारलाई जिताउन लागेको भन्दै चर्को आलोचनासमेत भइरहेको छ। निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम नेपाल सरकार र मन्त्री, प्रदेश सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, स्थानीय निकायका जनप्रतिनिधि लगायतलाई निर्वाचन सम्पन्न नहुँदासम्मका लागि आचारसंहिता लागू गरिसकेको छ।

जनप्रतिनिधि तथा मन्त्रीहरूले पदको दुरुपयोग गरेको र राज्यको सम्पत्तिमा ब्रह्मलुट गरेको गुनासो आम मतदाता गरेका छन्।  

के भन्छ निर्वाचन आयोग?  
आचारसंहिता लागू भइसकेको अवस्थामा मन्त्रीहरूले नै व्यक्तिलाई भोट माग्नु उचित नहुने निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेल बताउँछन्। सरकारी सम्पत्ति, सरकारी खर्च र सुरक्षाकर्मी लिएर भोट माग्न नमिल्ने तर आयोगको स्वीकृतिले व्यक्तिगत रुपमा चाँहि भोट माग्न मिल्ने उनको तर्क छ। 

‘सरकारी स्रोत साधन प्रयोग गरि, सरकारी खर्चमा भोट माग्न मिल्दैन, यदि कसैले गरेको छ भने कारबाही हुन्छ,’ उनले न्यूजगृहसँग भने, ‘तर कोही पार्टी सदस्य वा पदाधिकारी रहेको व्यक्तिले निर्वाचन आयोगसँग स्वीकृति लिएर भोट माग्न पाउँछ।’

निर्वाचन आयोग कानुन महाशाखाका सहसचिव यज्ञ भट्टराई अहिलेको उपनिर्वाचनमा मन्त्रीहरूले स्वीकृति लिएरै भोट माग्न गइरहेको र त्यसमा सरकारी सम्पत्तिको प्रयोग भएको छ/छैन ?  भन्ने विषयमा आयोगले मनिटरिङ गरिरहेको बताउँछन्।  ‘अहिले निर्वाचनमा जानुभएका मन्त्रीज्यूहरू सबैले स्वीकृति लिएर निर्वाचन नियमावली अनुसार नै प्रचारमा जानु भएको छ,’ उनले भने, ‘यद्यपि उहाँहरूले नियमको पालना गर्नुभयो या भएन हामीले त्यसलाई मनिटरिङ भने गरिरहेका छौँ।’ 

पहिचान पक्षधर डकेन्द्र थेगिमलाई भोट मागिरहेका धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले भने आयोगको स्वीकृति नलिएको पाइएको छ। आयोगले आचारसंहितामा सामाजिक सञ्जालमा अर्का उम्मेदवारलाई आक्षेप लगाउने किसिमका अभिव्यक्तिहरू नदिन भनेको छ। तर हर्कले अन्य उम्मेदवारलाई होच्याउने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्।  मेयर हर्क पनि चुनाव प्रचारमा हिँडिरहनुभएको छ, उहाँले चाँहि स्वीकृति लिनुभएको छ या छैन? भन्ने न्यूजगृहको प्रश्नमा भट्टराईले भने, ‘उहाँले हामीसँग स्वीकृति लिनुभएको छैन, हामी त्यस विषयमा छानबिन गर्छौँ।’  

को बलियो? 

२०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। उनको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। इलाम २ मा ठूला साना दल र स्वतन्त्रबाट १९ को उम्मेदवार रहे पनि एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमको चर्चा चुलिएको छ। एमालेका नेम्वाङलाई सत्ता गठबन्धनमा रहेका दल नेकपा माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र नेपाल परिवार दलको समर्थन छ। राम्रो सङ्गठन र जनाधार भएकाले एमाले निकै बलियो मानिन्छ।

गत चुनावमा नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार ९०० मत प्राप्त गरेका थिए। तर सो मत कांग्रेस एक्लैको नभएर तत्कालीन गठबन्धन दल माओवादी केन्द्र र एकीकृत समाजवादीकोसमेत थियो। कांग्रेसले त्यतिबेला समानुपातिकमा २२ हजार ३३३ मत पाएको थियो। रास्वपाले अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट प्रत्यक्षमा १ हजार ३८० मत र समानुपातिकमा ४ हजार ६८६ मत पाएको थियो।

इलाम २ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन्। इलाम २ मा १ लाख १५ हजार ३४२ मतदाता छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १८:२५
Weather Update