
काठमाडौं— सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन हो। प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समय बिहीबार साँझ ५ बजे सकिँदैछ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेस गर्ने तयारी गरेका छन्।त्यसका लागि एकीकृत समाजवादी बिहीबार बिहानैदेखि छलफलमा जुटेको छ।
तर नेकपा एमाले भने अझै निर्णयमा पुग्न सकेको छैन। एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न चाहेको छैन।
सोडारी एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता पनि हुन्।
तर एमालेले भने सोडारी विवादित व्यक्ति भएको भन्दै उनको विकल्प खोज्न भनेको छ। सोडारीविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा विचाराधीन रहेको एमालेको दाबी छ।
त्यस्तै मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै एमालेले उनको विकल्प खोज्ने अडान लिएको हो। एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सोडारीलाई अघि बढाउने निर्णय गरेको छ।













