News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कोशी प्रदेश सभा बैठक आज, मुख्यमन्त्री कार्कीले राजीनामा देलान्?

काठमाडौं— कोशी प्रदेश सभाको बैठक बिहीबार बस्दैछ। बैठक बिहीबार दिउँसो १ बजे बैठक बस्नेछ। चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए।

कोशीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि अब के हुन्छ भन्ने अन्यौलता छ। मुख्यमन्त्री कार्कीले आफूले दुई वर्षसम्म विश्वासको मत लिनु नपर्ने जिकिर गरेका छन्। 

Prabhu Bank

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफू मुख्यमन्त्री बनेकाले पुनः विश्वासको मत लिन नपर्ने दाबी गरिरहेका छन्। एक पटक विश्वासको मत लिएपछि दुई वर्षभित्रै राजीनामा माग्नु संवैधानिक प्रावधान विपरित हुने तर्क उनको छ।

मुख्यमन्त्रीको तर्कसँग कानुनविद् भने सहमत छैनन्। संविधानविद् चन्द्रकान्त ज्ञवालीले सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा प्रदेशसभाबाट ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनैपर्ने बताउँछन्। विश्वासको मत प्राप्त गर्न नसके मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाइ छ।

गठबन्धन दलहरू मुख्यमन्त्री कार्कीलाई मार्गप्रशस्त गर्न सुझाव दिइरहेका छन्। एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सरकार स्पष्टरूपमा अल्पमतमा परिसकेको देखिएकाले कि विश्वासको मत लिनुपर्ने अन्यथा राजीनामा दिनुपर्ने बताए।

नेपाली कांग्रेसका केदार कार्की एमालेको समर्थनमा गत असोज २७ मा मुख्यमन्त्री बनेका हुन्। तर एमाले र माओवादीले गत चैत २६ गते मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए। अल्पमतमा परेका मुख्यमन्त्रीले राजीनामा नदिएपछि एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव दर्ता गरेका हुन्।

संकल्प प्रस्तावमा वैशाख २५ गतेभित्रमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने या राजीनामा दिनुपर्ने उल्लेख छ। कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले संकल्प प्रस्ताव फेस गरेर जाने निर्णय गरेको छ। 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०६:४०
Weather Update