News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
रुस-युक्रेन युद्धको २५ महिना: ५० हजार बढी रुसी सैनिक मारिएको पुष्टि
बीबीसी

काठमाडौं— युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि भएको बीबीसीले दाबी गरेको छ। बीबीसी रुसी सेवा र रुसी स्वतन्त्र सञ्चारमाध्यम मिडियाजोना र केही स्वयंसेवकहरूको तथ्यांक संकलन र विश्लेषणबाट उक्त सङ्ख्यामा रुसी सेनाको मृत्यु पुष्टि भएको दाबी गरिएको हो। 

बीबीसीका अनुसार फेब्रुअरी २०२२ देखि तथ्यांक सङ्कलनको काम भइरहेको थियो। युद्ध सुरु भएदेखि नै बीबीसी र मिडियाजोनका लागि काम गर्ने स्वयंसेवकले ७० वटा चिहानघरमा खनिने नयाँ चिहानको संख्या गनिरहेका थिए।

Prabhu Bank

रुस-युक्रेन युद्धको पहिलो वर्षभन्दा दोस्रो वर्षमा धेरै रुसी सेना मारिएको पनि समाचारमा उल्लेख छ। चिहानघरहरूमा थपिएका नयाँ चिहानहरूबाट पनि धेरै सैनिकहरूको नाम पत्ता लगाउन सफल भएको बीबीसीको दाबी छ। बीबीसीले लेखेको छ, 'हाम्रो टिमले युद्धमा मारिने सैनिकको संख्या पत्ता लगाउन आधिकारिक रिपोर्ट, स्वतन्त्र रूपमा उपलब्ध सूचना, समाचारपत्र र समाजिक सञ्जालमा उपलब्ध सूचना अध्ययन गरेको थियो।'

दोस्रो वर्षमा अघिल्लो वर्षमा भन्दा २५ प्रतिशत बढी रुसी सैनिक मारिएको भन्दै बीबीसीले लेखेको छ, 'हाम्रो खोजबाट युक्रेनमा युद्धको दोस्रो वर्षमा २७ हजार ३ सय रुसी सैनिकले ज्यान गुमाएको पुष्टि भएको छ। यसबाट पनि यो थाहा हुन्छ कि रुसले भौगोलिक फाइदाका लागि कति ठूलो मानवीय क्षति बेहोरिरहेको छ।'

बीबीसीले रुसले पनि यसबारे प्रतिक्रिया दिन नचाहेको जनाएको छ। रुसले २०२२ को सेप्टेम्बरमा सार्वजनिक गरेको भन्दा ८ गुणा बढी सैनिक मारिएको पनि बीबीसीको दाबी छ। रुस-युक्रेन युद्धमा मारिने रुसी सैनिकको संख्या अझ धेरै हुनसक्ने पनि बीबीसीले जनाएको छ। बीबीसीले रुसी कब्जामा रहेको दोनेत्स्क र लुहान्स्कमा मारिएका सैनिक संख्या गणना नभएको बताएको छ।

युक्रेनतर्फ पनि ठूलो मानवीय क्षति भए पनि आधिकारिक रूपमा भने तथ्यांक अद्यावधिक गरिँदैन। पछिल्लो समय युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले ३१ हजार युक्रेनी सेना युद्धभूमिमा मारिएको बताएका थिए। तर अमेरिकी गुप्तचर निकायहरूले भने उक्त संख्या धेरै ठूलो हुन सक्ने जनाएका छन्।

बीबीसीले युद्धभूमिमा कैदीहरूलाई सिधै पठाइएको पनि बताएको छ। रुसको निजी अर्धसैनिक समूह ‘द वाग्नर ग्रुप’का प्रमुख येभगेनी प्रिगोजिनलाई जुन, २०२२ मा रुसी सरकारले जेलका कैदीहरूलाई भर्ना गर्न अनुमति दिएको थियो। करिब १५ दिनको सामान्य तालिमपछि उनीहरूलाई सिधै रणभूमिमा पठाइएको थियो। उनीहरू रुसी सरकारको तर्फबाट भाडाका सैनिकका रूपमा युक्रेनविरुद्ध युद्ध लडिरहेका छन्।

रुसी सरकारले थुप्रै नेपाली युवाहरूलाई पनि भाडाका सैनिकका रूपमा भर्ती गरेको छ। रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ३२ पुगिसकेको छ। रुसी सेनामा कति सङ्ख्यामा नेपाली भर्ती भएका छन् भन्ने सरकारसँग पनि तथ्यांक छैन। गत अगस्ट महिनामा विमान दुर्घटनामा वाग्नर प्रमुख प्रिगोजिन मारिएका थिए । रुस र युक्रेनबीच युद्ध चलेको २ वर्ष १ महिना नाघिसकेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १८:१६
Weather Update