News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
रास्वपाका नेता कार्की भन्छन्– समिति बनाएर रविमाथि छानबिन हुनुपर्छ

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति बनाएर त्यसको निराकरण गर्नुपर्ने बताएका छन्। 

आफ्नै पार्टीका सभापति रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको विषयमा लागेको आरोपका विषयमा समिति बनाएर छानबिन गर्न माग गरेका हुन्। 

Prabhu Bank

सामाजिक सञ्जालमा लेख्दै उनले यसअघि विभिन्न प्रकरणमा सभापति लामिछानेले नै संसद्मा छानबिन समितिको माग गरेको बताउँदै यदी त्यसो हुन नसकेमा अहिले आएर सभापतिकै कुरा बाझिने बताए। पहिले अन्य दल र नेतामाथि छानबिन समितिको प्रशंग उठाउँदा लामिछानेको सवाल पार्टीभित्र सही मानिए पनि अहिले रास्वपा र समर्थकहरुले लामिछानेमाथि उठेका प्रश्नको सवालमा अरुले समिति माग गर्दा भने रवि र रास्वपाको विरुद्ध जस्तो बुझिए पनि त्यसो नभएको स्पष्ट पारे। 

‘हाम्रै सभापतिले केहि समय अगाडि संसदमा नै राज्यका प्रहरी प्रशासन जस्ता नियमित संयन्त्रहरूले विश्वास गुमाएका कारण तिनले गरेका छानबिन र अनुसन्धानमा मात्रै भर नपरी संसदीय छानबिन विशेष समिति बनाउन पर्ने भन्नु भएको थियो। सभापतिले छानबिन समिति बनाउनु पर्छ भन्दा हामी समर्थकहरू संसदबाहिर पनि हो यहि हो भनेर वकालत गरेका थियौँ। आखिर नेपालको धरातलीय यथार्थ त्यही नै हो,’ उनले भनेका छन्, ‘दुर्भाग्य, बिचमा केहि अलमल भएको छ। जसले गर्दा संसदीय छानबिनको असल कुरालाई अर्को दलले उठाउँदा त्यो हाम्रो विरूद्धमा जस्तो भएको छ। तर अन्तर्यमा हेर्ने हो भने त्यो मुद्दा त खासमा हाम्रो मुद्दा हो। हाम्रै सभापतिले गरिमामय संसदमा उठाउनु भएको विषय हो। त्यो कसरी हाम्रा विरूद्धमा हो भन्ने मान्नु ? संसदीय समिति हाम्रो विरूद्धमा हो भन्ने कुरा भ्रामक कुरा हो । कसैलाई हाम्रो विरुद्दमा हो भन्ने लाग्छ भने सभापति कै केही अगाडिको कुरासँग त्यो बाझिन्छ।’ 

नेता कार्कीले पार्टी सभापति लामिछानेको विषयमा उठेका सवालमा छानबिन गर्न कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिएका छन्। उनले संसदीय छानबिन समिति, उच्चस्तरीय अनुसन्धान आयोग बनाएर छानबिन गरी विरोध गर्नेहरुलाई स्पष्ट जवाफ दिनुपर्ने बताए।

‘संसदीय छानबिन भन्छन् कि उच्चस्तरिय अनुसन्धान आयोग बनाउने भन्छन् कि बैंक खाता हेर्छौँ भन्छन् कि के बनाउँ भन्छन्, बनाइदिउँ, देखाइदिउँ। जस्तो कसिमा जाँचिनु पर्ने हो, जाँचिन तयार हौँ। तर यो कुरा सकिदिउँ। अनि सोध्ने हो, तिमीहरूमा हामी जस्तो हिम्मत छ छानबिन र जाँचमा उभिने? त्यसपछि छुट्टिन्छ, दुधको दुध र पानीको पानी। अनि बन्द हुन्छ सँधैका लागि विरोधी भनिएका मुख,’ उनले भनेका छन्। 

पछिल्ला दिनहरुमा सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै लामिछानेमाथिको प्रश्न पेचिलो बन्दै गइरहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ११:०२
Weather Update