News Griha :: न्यूजगृह
गगन–गोकुलको एकैस्वर– सत्ताका लागि च्याँखे थाप्ने पसल बन्द गरौँ 

काठमाडौं— सत्ताका लागि राजनीतिक कचिंगल बढ्न थालेपछि संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले मिलेर सरकार बनाउनुपर्ने आवाजहरु बाहिरिन थालेका छन्। 

अहिले मात्र होइन निर्वाचन सम्पन्न भएपछि नै कांग्रेस–एमाले मिलेर सरकार बनाउनुपर्ने धारणाहरु बाहिरिएका थिए। त्यतिबेला पनि कतिपय एमाले नेताहरुले राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमाले मिल्नुपर्ने बताएका थिए। तर निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर गएका कारण कांग्रेसले आगामी ५ वर्ष गठबन्धन भत्किने काम गर्न नहुने भन्दै पूर्ववर्ती यानेकी कांग्रेस–माओवादी गठबन्धनकै सरकारलाई स्थायित्व दिने संकेत गरेपछि कांग्रेस–एमाले मिलेर सरकार बनाउने सम्भावना टरेको थियो।   

२०७९ पुस १० गते पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग सत्ता सहयात्राको हात अघि बढाएपछि कांग्रेसमा एमालेसँग मिल्नुपर्र्ने धारणा विकसित हुन थाल्यो, भित्री रुपमा केही गृहकार्य भए पनि त्यस ठोस टुंगोमा भने पुग्न सकेन। त्यसयता पनि प्रचण्ड कहिले यता र कहिले उता गठबन्धन गर्न पुग्दा कांग्रेसका शीर्ष नेताहरु नै स्थायित्वका लागि दुई मुख्य पार्टी मिलेर अघि बढ्नुपर्नेमा जोड दिन थालेका छन्। 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्ला दिनहरुमा सार्वजनिक कार्यक्रममै राजनीतिक स्थायित्वका लागि कांग्रेस एमाले मिल्ने र बिचमा बसेर बार्गेनिङ गर्ने दलहरुमाथि अंकुश लगाउनुपर्ने बताउँदै आइरहेका छन्। 

समुदायमा कांग्रेस अभियानमा देशका विभिन्न भागमा पुगेका गगनले सत्ताका लागि ठूला दलहरुसँग बार्गेनिङ गर्ने दलहरुलाई निस्तेज पार्दै राजनीतिक स्थायित्वका लागि कांग्रेस एमाले मिल्नुपर्ने बताउँदै आइरहेका हुन्। 

समुदायमा कांग्रेस अभियानका लागि मंगलबार धनगढी पुगेका महामन्त्री थापाले भने, ‘पार्टीका कारण घर झगडा बढिरहेको छ । साना दोकानहरू बन्द गराउनुपर्ने अवस्था छ।’

त्यस्तै उनले निर्वाचनअघि कुनै दलसँग गठबन्धन गरेर जान नहुनेमा समेत जोड दिए। 

त्यसो त सत्ताका लागि पार्टी नै फुटाउने प्रवृत्ति राजनीतिमा हाबी हुन थालेपछि एमाले नेताहरु पनि ठूला दलहरु मिल्नुपर्ने बताउन थालेका छन्। 

एमाले नेता गोकुल बास्कोटाले एकै दलले बहुमत ल्याउन नसक्ने अवस्थामा सरकार बनाउन साना दलको आवश्यक्ता पर्ने भए पनि त्यसले मुलुकमा राजनीतिक कचिंगल बढाउने तर्क गर्छन्। 

समावेशी क्षेत्रलाई पनि प्रतिष्पर्धी बनाएर एउटै दलले बहुमत ल्याउन सक्ने निर्वाचन प्रणालीमा देशलाई ल्याउनुपर्नेमा जोड दिए। 

साना दलहरुप्रति कटाक्ष गर्दै उनले निर्वाचनमा केही सिट ल्याउने र सत्ताका लागि च्याँखे थाप्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्। 

सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका नेता बास्कोटाले भनेका छन्, ‘फेरि राजनीतिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद हो। सधैँको अस्थिरता किन र केका लागि? समावेशी क्षेत्रलाई पनि प्रतिष्पर्धी बनाएर समेत एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानैपर्छ। चुनाव पुर्व गठबन्धन गर्ने, दुईचार सिट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ।’ 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १७:००
Weather Update