-1713261793.jpg)
काठमाडौं— नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको जनाएको छ।
यसअघि आइतबार चौधरीलाई समर्थन गरेको एकीकृत समाजवादीले आज समर्थन नरहेको भन्दै प्रदेश प्रमुख नजिर मिँया समक्ष पत्र पेश गरेको हो।
एकीकृत समाजवादी सुदूरपश्चिमका संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा चौधरीलाई समर्थन नरहेको पत्र बुझाएपछि त्यहाँको समीकरण परिवर्तन हुने समेत देखिएको छ।
यसअघिका मुख्यमन्त्री नेपाली कांग्रेसका कमलबहादुर साहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि आइतबारसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेश गर्ने समय दिइएको थियो। दाबी पेश गर्ने अन्तिम दिन आइतबार नाउपाका लक्ष्मण किशोरसहित नाउपाकै कैलाश चौधरीले समेत दाबी पेश गरेका थिए। दुवैको दाबी परेपछि प्रदेश प्रमुख मिँया कानुनी परामर्शमा रहेका बेला एकीकृत समाजवादीले समर्थन फिर्ता लिएको हो।
७ प्रदेशमध्ये कुनै एक प्रदेशमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग एकीकृत समाजवादीले राख्दै आाइरहेको छ। आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर एकीकृत समाजवादीका नेता झलनाथ खनालले सुदूरपश्चिममा एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग राखेपछि त्यहाँको समीकरण फेरिने देखिएको हो।