News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको विषयमा सत्ता समीकरणमा असन्तुष्ट रहेको बेला प्रधानमन्त्री प्रचण्डले नेता खनालसँग बालुवाटारमा छलफल गरेका हुन्।

एकीकृत समाजवादीले यसअघि सत्ता समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफूलाई दिने सहमति भएको भएपनि अहिले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिएको भन्दै असन्तुष्ट रहेको छ।

Prabhu Bank

सुदूरपश्चिममा एकीकृत समाजवादीले केन्द्रको समीकरणको विपरित कांग्रेससहितको समर्थनमा नाउपाकै रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेपछि सत्ता समीकरण नै तरंगित बनेको छ।

सुदूरपश्चिममा सरकार बनाउनेक्रममा पूर्व सहमति अनुसार नगरेको ​भन्दै नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेससँग सहकार्य गरेपछि त्यसको धक्का नयाँ समीकरणलाई पर्ने विश्लेषण गरिएको छ। हालको सत्ता समीकरणमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र एकीकृत समाजवादी छन्।

यसअघि केन्द्रमा नयाँ समीकरण बनाउँदा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो। तर आइतबार सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिने निष्कर्षमा समीकरणका प्रमुख नेताहरू प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पुगेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल झस्किएका हुन्। उनले यसअघिको सहमति पालना नगरेको र आफूहरूलाई धोका भएको विश्लेषणसहित सुदूरपश्चिममा कांग्रेससँग सहकार्य गरेका हुन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०९:४४
Weather Update