News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सहकारी प्रकरणः अनुसन्धानमा रवि लामिछानेले २ करोड ऋण लिएको देखियो, अभियोग लागेन

काठमाडौं— बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा ऋण स्वीकृत भएको प्रहरीको अनुसन्धानमा देखिएको छ। प्रहरीले गरेको अनुसन्धानबाट लामिछानेको नाममा २ करोड रुपैयाँ ऋण स्वीकृत भएको रूपन्देही जिल्ला अदालतमा पेस गरिएको अभियोगपत्रमा उल्लेख छ। 

अभियोगपत्रमा उक्त रकम लामिछानेको नाम ऋण खडा गरि २०७७ चैत १ मा गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंकको खातामा सेवा शुल्क बापत ४ लाख कट्टी गरि संस्थाले एक करोड ९६ लाख जम्मा गरेको देखिएको उल्लेख छ।

Prabhu Bank

सहकारीमा भएको घोटालामा संलग्न ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दायर गरेको छ। तर अभियोगपत्रमा २ करोड लिएका लामिछानेको नाम भने राखिएको छैन। प्रहरीले अनुसन्धानमा लामिछानेको नाममा प्रक्रिया नपुर्याएर ऋण लिएको उल्लेख गरेको छ। 

सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं पूर्वकोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाईँ पाण्डे, दीपक न्यौपाने र नीता थापामगर पक्राउ परेका छन्। ५ जना बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ।

गोर्खा मिडिया नेटवर्कको नाममा करोडौं रकम निकासा भएको अनुसन्धानबाट देखिएको छ। सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए। सहकारीमा सञ्चालक, सदस्य, बचतकर्ता र ऋणीसमेत नरहेको भन्ने दाबी गर्दै आएका गृहमन्त्री लामिछानेले गैरकानुनी रूपमा सहकारीको रकम लिएको प्रहरी अनुसन्धानबाटै पुष्टि भएपनि उनलाई उन्मुक्ति दिइएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०९:३६
Weather Update