
काठमाडौं— पूर्व सांसद प्रमोद साहमाथि आक्रमण भएको छ।
जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्व सांसद शाहमाथि गत शनिबार राति १ बजे सर्लाहीको हरिहरपुर नगरपालिकामा आक्रमण भएको हो।
राति साहका सहयोगी राजेन्द्र महतोसहितको टोली पानी लगाउन खेतमा गएका थिए। सो क्रममा उनीहरुमाथि आक्रमण भएको र पछि साह जाँदा उनीमाथि पनि आक्रमण हुन पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले न्यूजगृहलाई जानकारी दिए । उनका अनुसार घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिइएको छ, भने अन्यको खोजतलास भइरहेको छ।
‘उहाँका सहयोगीहरुमाथि आक्रमण भएपछि उहाँ पनि त्यहाँ जानुभएको रहेछ। सोहीक्रममा उहाँमाथि पनि आक्रमण भएको हो,’ डीएसपी श्रेष्ठले न्यूजगृहसँग भने, ‘घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिएका छाैँ, अन्यको खोजिकार्य जारी छ।’
आक्रमणपछि सामान्य घाइते भएका पूर्व सांसद साहको त्यहीँ सामान्य उपचार भएको थियो। भने अहिले थप उपचारका लागि काठमाडौं आएका छन्।













