
काठमाडौं— डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपाका केन्द्रीय सदस्य विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
पाण्डेलाई माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहान माओवादी केन्द्रमा स्वागत गरेका हुन्।
पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील सदस्य रहेका विश्वदीपले सोमबार बिहान सामाजिक सञ्जालमार्फत नेसपा छोडेको घोषणा गरे।
उनी माओवादीको सशस्त्र युद्धदेखि नै बाबुरामका स्वकीय सचिव थिए। पछिल्लो समय सरकारमा जाने विषयमा पार्टीमा दुई धार हुँदै विभाजन भएको थियो। गत चैत ३ गते नेसपाका अर्का अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगा नारायण श्रेष्ठलगायतले पार्टी फुटाएर माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरे। तर, त्यो समय पनि विश्वदीप बाबुरामकै पक्षमा साथ दिए।
पाण्डेले सोमबार बिहान नेसपा पार्टी छोडेको घोषणाको केही घण्टामै माओवादी प्रवेश गरेका हुन्। नेसपा र माओवादी केन्द्र एक हुनुपर्ने पक्षमा रहेका पाण्डे त्यो सम्भावना नदेखेपछि बाबुरामलाई छोडेर प्रचण्डसँग आइपुगेका हुन्।