
काठमाडौं— आइतबार बिहान ५ बजे मुम्बई, बान्द्रास्थित बलिउड अभिनेता सलमान खानको अपार्टमेन्टमा गोली चलाइको थियो। मोटरसाइकलमा आएका आक्रमणकारीले ४ राउन्ड फायर गरेका थिए। त्यतिबेला सलमान घरमै थिए।
सो घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सलमान खानसँग फोनमा कुरा गरेका थिए। शिन्देले मुम्बईका प्रहरी आयुक्तलाई सलमानको सुरक्षा बढाउन निर्देशन दिएका छन्। हाल अभिनेता खानको घरबाहिर सुरक्षा बढाइएको छ। गोली चलाउनेहरुको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ।
मुम्बई प्रहरी स्रोतका अनुसार गोली चलाइएको बन्दुक ७.६ बोरको थियो। फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट गोली फेला पारेका छन्। फोरेन्सिक टोलीले अनुसन्धान गरिरहेको छ। प्रहरीले आरोपीको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।
दुवै अभियुक्त राज्य बाहिरका हुन सक्ने र उचाइ ५ फिट ८ इन्च हुन सक्ने प्रहरीले जनाएको छ। प्रहरीले सलमानको घरबाहिर राखिएका सबै सीसीटीभी क्यामेराको डीभीआर जफत गरेको छ।
घटनाको जिम्मेवारी लरेन्स बिश्नोई समूहले लिएको छ। घटनाको जिम्मेवारी लरेन्स बिश्नोई समूहले लिएको छ। एक फेसबुक पेजमा सो घटनाका बारेमा जिम्मेवारी लिएको सार्वजनिक भएको छ, जसमा सलमान माथि भविष्यमा पनि आक्रमण हुनसक्ने लेखिएको छ।
यद्यपि यस पोस्टको प्रहरीले पुष्टि गरिसकेको भने छैन। थप जानकारी प्रहरीले अझै दिएको छैन।