
काठमाडौं— संवैधानिक परिषद्को बैठक बोलाइएको छ । प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
बैठक बुधबार बिहान ८ बजेपछि सिंहदरबारमा बस्ने तयारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । उनका अनुसार प्रधानन्यायाधीश नियुक्त गर्ने विषयबारे बैठकमा छलफल हुनेछ ।
शर्माले न्यूजगृहसँग भने,‘संवैधानिक नियुक्तिलगायत विषयमा छलफल गर्न सिंहदरबारमा बैठक सुरु हुन लागेको छ ।’
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहनेछन् ।
परिषद्को बैठकलगायतका विषयमा छलफल गर्न सोमबार प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न ओली निवास बालकोट गएका थिए ।
तीन दलको बैठकले संवैधानिक परिषद्काे बैठक डाक्ने निर्णय गरेको थियो । चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि गत २७ मंसिरदेखि प्रधानन्यायाधीश पद रिक्त छ ।













