
काठमाडौं— सरकारले संसद्को चालु अधिवेशन अन्त्य गरेर बैठकमा उठेका विषयबाट भाग्न खोजेको भनेर कांग्रेसले लगाएको आरोपको खण्डन गरेको छ।
आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीहरूले गरेको प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री रेखा शर्माले सरकारले फरक ढंगले बजेट कार्यक्रम अघि बढाऔँ भनेर समय लिन खोजेको र संसद् अधिवेशन अन्त्य स्वभाविक प्रक्रियाबाट नै भएको बताइन्।
उनले संसद् बैठकमा उठेका विषयबाट भाग्न खोजेको भनेर कांग्रेसले लगाएको आरोप गलत भएको दाबी गरिन्।
उनले भनिन्, ‘अब बजेट अधिवेशन नजिक आउँदैछ । यस पटक बजेट कार्यक्रममा नयाँपन दिने पनि हामीले भनेका छौँ । त्यही अनुसार हामीले सिद्धान्त र प्राथमिकता पारित गरिसकेका छौँ । सिद्धान्त र प्राथमिकतामा धेरै मान्यज्यूहरुका सल्लाह र सुझाव छन्। त्यसलाई परिमार्जन गर्नुपर्नेछ। नीति तथा कार्यक्रम, बजेटको तयारी गर्नुपर्ने भएकाले सरकारको मुख्य ध्यान त्यतातिर गएको छ । त्यसकारण सरकारले अलि फरक ढंगले बजेट कार्यक्रम अघि बढाउन खोजेको हो।’
संसद् अधिवेशन अन्त्य स्वभाविक प्रक्रियामा भएको भन्दै मन्त्री शर्माले यसलाई अन्य अर्थमा नबुझ्न आग्रह गरिन्।