
काठमाडौं— सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी नेतृत्वको सरकार बन्ने भएको छ।
नेपाली कांग्रेस, एकीकृत समजवादी र एक स्वतन्त्र सांसदको समर्थनमा नागरिक उन्मुक्ति पार्टी नेतृत्वको सरकार बन्ने भएको हो।
अहिले नाउपा सुदूरपश्चिमका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्दै मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख नजिर मियाँको कार्यालयमा सांसदहरु पुगेका छन्।
कांग्रेससहितको समर्थनमा चौधरीलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक प्रकाश बमले न्यूजगृहलाई जानकारी दिए।
‘हामी अहिले मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि प्रदेश प्रमुखको कार्यालयमा छौँ ।’ बमले न्यूजगृहसँग भने।
त्यस्तै अन्य भागबण्डाको विषयमा कुनै पनि कुरा नभएको उनले बताए । सरकारको नेतृत्व कसले कति समय गर्ने भन्ने लगायका विषयमा आन्तरिक छलफल भइरहेको र केही समयमा त्यसको टुंगो लाग्ने समेत बताए।
‘सत्ता समीकरणका अन्य विषयमा पार्टीभित्र आन्तरिक छलफल जारी रहेको छ । तर हामीले कसले कति समय सरकारको नेतृत्व गर्ने भन्ने विषयमा भने अझै केही टुंगिएको छैन।’ उनले भने।
केन्द्रको सत्ता समीकरणमा आएको परिवर्तनपछि कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको थियो।
सुदूरपश्चिम सरकार निर्माणका लागि निर्णायक मानिएको शक्ति नाउपाले यसअघि आफ्नो नेतृत्वमा सरकार नभएमा सरकारलाई समर्थन नदिने अडान कायम राखेको थियो।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा बहुमतका लागि २७ सांंसदको समर्थन आवश्यक पर्दछ । मुख्यमन्त्री बन्न लागेका चौधरीलाई उनको दल नाउपाका ४, नेपाली कांग्रेसको १८, एकीकृत समाजवादीको ४ र एक स्वतन्त्र सांसदको समर्थन रहेको छ ।
केन्द्रको सत्ता समीकरणमा आएको फेरबदलपछि नाउपामा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कि नगर्ने भन्ने विषयमा आन्तरिक किचलो चुलिएको छ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई समर्थन गरेर अघि बढ्ने तर्क अघि राख्दा उनका श्रीमान समेत रहेका पार्टीका संस्थापक रेशम चौधरीले भने सरकारलाई समर्थन नदिइ बाहिर बस्ने तर्क अघि सारेका थिए । जसको कारण पार्टीमा आन्तरिक किचलो सतहमा आएको थियो।
सुदूरपश्चिम सरकारको सन्दर्भमा पनि पार्टीभित्र आन्तरिक किचलो देखिएको छ । रञ्जिताले कैलाश चौधरीलाई अघि बढाएकी थिइन् । तर रेशमले आफू निकटका लक्ष्मणकिशोर चौधरीलाई अघि बढाएका हुन् ।