News Griha :: न्यूजगृह
सुदूरपश्चिममा केन्द्रलाई काउन्टर, नाउपालाई मुख्यमन्त्री दिन कांग्रेससहितको सहमति

धनगढी — सुदूरपश्चिम प्रदेशमा सरकार दाबि गर्ने आज अन्तिम दिन राजनीतिक ध्रुवीकरण तीब्र गतिमा बढेको छ।

आइतबार प्रदेशको ठुलो दल नेपाली कांग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेको दाबी गरिएको छ। प्रदेश सरकार निर्माणको लागि काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षबीच नयाँ समझदारी बनेको हो।  

कांग्रेस र एकीकृत समाजवादी नाउपाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको दाबी गरिएको छ। एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपाका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहबीच सहमति भएको हो। 

सुदूरपश्चिममा कांग्रेसका १८, एकीकृत समाजवादीका चार र र नाउपाको रेशम चौधरी पक्षका चार सांसद छन्। यो सहमतिपछि सुदूरपश्चिममा बहुमतको लागि आवश्यक २६ मत पुग्ने भएको छ। 

यद्यपि केन्द्रको नयाँ समीकरणका दलहरूबीच नाउपालाई मुख्यमन्त्री दिने सहमति आइतबार बिहान थियो। नाउपा अध्यक्षा रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले एमाले र माओवादीसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी भएका बेला नाउपाको रेशम पक्षले कांग्रेससँग नयाँ सहमति गरेको हो।

५३ सदस्यीय सुदूरपश्चिममा हाल ५१ जना सदस्य कायम छन्। सुदूरपश्चिमका एक सांसदको निधन भएको छ भने नाउपाले प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरेको छ। यस अवस्थामा सरकार निर्माण गर्न २६ मत मात्र आवश्यक हुन्छ। प्रदेश प्रमुखले सरकार गठनको दाबी गर्न आइतबार ५ बजेसम्मको समय दिएका छन्।

सुदूरपश्चिममा नाउपा भित्रको विवादले थप राजनीतिक घटनाक्रम विकसित हुनसक्ने अनुमान गरिएको छ। 
 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १३:५६
Weather Update