
काठमाडौं— संंघीय संसदको दुवै सदनको हिँउदे अधिवेशन आइतबार (आज) राति १२ बजेबाट अन्त्य हुने भएको छ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सो बारेमा जानकारी गराएका हुन्।
चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालू अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। सोही अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेका हुन्।
संसदको यो अधिवेशन अन्तर्गत ७० वटा बैठक चलेको थियो।
सभामुख घिमिरेले हिँउदे अधिवेशनको अन्तिम बैठकमा सो राष्ट्रपति कार्यालयको पत्रका बारेमा जानकारी गराएका हुन्।
सभामुख घिमिरेले कानुन निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मकरूपमा अघिल्ला अधिवेशनभन्दा तेस्रो अधिवेशन उपलब्धीपूर्ण रहेको भएपनि पर्याप्त हुन नसकेको बताएका छन्।
उनले राजनीतिक दलहरूबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका कारण आगामी अधिवेशन अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास लिएको बताए।
यो हिउँदे अधिवेशन गत माघ २२ गते देखि शुरु भएको थियो । ७० दिन चालु रहेको यो अधिवेशन २३ पटक बसेको बैठक ८१ घण्टा र ५५ मिनेटसम्म बसेको थियो। यस अधिवेशनमा जम्मा तीन विधेयक पारित भएको सभामुख घिमिरेले जानकारी दिएका छन्।