
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले तानाशाही प्रवृत्ति देखाएको कारण पार्टीलाई संसद अवरोध गर्नुपर्ने बाध्यता परेको निष्कर्ष निकालेको छ।
आज बसेको कांग्रेस संसदीय दलको बैठकले सो निष्कर्ष निकालेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रतिपक्षका कारण संसद बैठक चल्न नसकेको भन्ने तर्क लज्जास्पद रहेको बताए । कांग्रेसले उठाएका मागका विषयमा सरकारले कुनै चासो नदेखाएका कारण आफूहरुले संसदमा विरोध जनाए पनि त्यसले संसदको कुनै काम कारबाहीमा असर नगरेको तर्क गरे।
‘प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने तर्क लज्जास्पद छन् । संसदका कुनै पनि काम कारबाही अवरोध गरेको थिएन । सरकारको तानाशाही प्रवृत्तिका कारण २ दिन अवरोध भएको हो । यसको जिम्मा सरकारले नै लिनुपर्दछ,’ लेखकले भने।
त्यस्तै प्रतिपक्षीले उठाएको मागका बारेमा बेवास्ता गरेको भन्दै संसदीय मूल्य मान्यता अनुसार अघि बढ्न समेत सरकारलाई चेतावनी दिए।
‘यो निर्णयको कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ । अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध काम नगर्न सरकारलाई कडा चेतावनी पनि दिन्छौँ,’ लेखकले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने।
त्यस्तै सरकारले हठात रुपमा हिउँदे अधिवेशन अन्त्य गरेकोप्रति कटाक्ष व्यक्त गरे। सरकार आफैँ बैठक छलेर संसदीय मूल्यमान्यताबाट भागेको समेत आरोप लगाए।