News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत: गृहमन्त्री लामिछाने

काठमाडौं— उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत भएको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले सडक यातायात सुधार कार्यदलको प्रतिवेदन आफूले अग्रपङ्तिमा बसेर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विषेश अभियान – २०८१’ को समुद्घाटन कार्यक्रममा गृहमन्त्री लामिछानेले चालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको दाबी गरे। 

Prabhu Bank

गृहमन्त्रीले भने, ‘ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा छ। त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढंगले सवारी चलाएको छ कि छैन भन्ने कुरा हेर्ने नियमन गर्ने निकाय अर्को छ। रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने जुन परिपाटी छ त्यो परिपाटी नै ठिक छैन। त्यसलाई परिवर्तन गर्नुपर्ने छ।’

गृहमन्त्री लामिछानेले ड्राइभिङ सेन्टरमा सिकाएको भरमा लाइसेन्स दिने प्रक्रियालाई एकदमै कडाइ गर्नुपर्छ भन्ने पक्षमा आफू नभए पनि राम्रोसँग सवारी बोक्न सक्ने भएपछि मात्र लाइसेन्स दिनुपर्ने कुरामा आफू अडिग रहेको बताए। 
‘कुनै ठाउँभित्र एट (८) बनाएर, अलिअलि रोकेर साइड लगाएको भरमा जुन ढंगले लाइसेन्स दिइएको छ । यसलाई एकदमै कडाइ गरेर मात्र लाइसेन्स दिनुपर्छ भन्दिनँ। तर सडकमा सवारी बोकेर जाने मानिसलाई ट्राफिक नियम थाहा हुनुपर्छ र राम्रोसँग सवारी बोक्न सक्ने भएपछि मात्र लाइसेन्स दिनुपर्छ भन्ने कुरामा म अडिग छु,’ उनले थपे, ‘बुबाआमाले माया गरेर परीक्षामा यति प्रतिशत अङ्क ल्यायौ भने बाइक किन्दिन्छु भन्नु एउटा कुरा हो। तर, त्यो बाइक गाडी चलाउने हैसियत बनाउनु अर्को कुरा हो । तर लाइसेन्स चाँहि त्यसरी पाउनुहुँदैन।’

सीप बिना नै रोड टेस्ट नगरी लाइसेन्स दिने प्रकृतिका कारण धेरै दुर्घटना हुने गरेको र त्यसमा बाइक चालकहरूको संख्या बढी रहेको भन्दै उनले त्यसलाई सुधार्न लाइसेन्स दिने प्रक्रियामै सुधार गर्नुपर्ने बताए । 

लामिछानेले आफूले नेतृत्व सम्हालेपछि ट्राफिक व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै उनले सडक यातायात सुधार कार्यदलको प्रतिवेदन उपलब्ध गराइदिन आग्रह गरे । ‘सडक यातायात सुधार कार्यदलको रिपोर्ट पूरा भएको कुरा आएको छ । त्यो रिपोर्ट जतिसक्दो छिटो मलाइए उपलब्ध गराउनु भयो भने यसको कार्यान्वयनको अग्रपङ्तिमा म आफू अगाडि बढ्छु र त्यसमा सम्पूर्ण सङ्गठनलाई अगाडि लैजाने म प्रतिबद्धता व्यक्त गर्छु’ गृहमन्त्री लामिछानेले भने ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १०:४१
Weather Update