
काठमाडौं— सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दिइएको समय आइतबार सकिँदैछ।
कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
प्रदेश प्रमुखले सरकारमा दाबी पेस गर्न दिएको समय आइतबार साँझ ५ बजे सकिने भए पनि अहिलेसम्म कसैले पनि दाबी गरेका छैनन्। सत्ता समीकरण फेरिएपछि सुदूरपश्चिममा निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई मुख्यमन्त्री दिने नयाँ गठबन्धनमा सहमति भइसकेको छ।
तर, नाउपाभित्र मुख्यमन्त्रीका रूपमा कसलाई अघि बढाउने भन्ने विषयमा विवाद हुँदा ढिलाइ भएको हो। नाउपा केन्द्रीय सदस्य रमेश बिकले आइतबार कैलाश चौधरीले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताए।
नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षले कैलाश चौधरी र संरक्षक रेशम चौधरी पक्षले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेका छन्।